काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थान तथा अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। बागमती र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरी–बतासको सम्भावनासमेत रहेको छ।
आज राति पनि मधेस, कोशी र देशका अधिकांश पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ।


