काठमाडौं। नेपालभर मनसुनी गतिविधि थप सक्रिय हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनीका बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभरि बुधबारसम्म मनसुन फैलिने सम्भावना रहेको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहेको छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी र बागमतीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर पूर्ण रूपमा बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
आज राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।


