काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा सोमबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशभर मौसम सामान्यदेखि पूर्ण बदली भएको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा, साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थान र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपासका क्षेत्र, पहिरोको जोखिम भएका स्थान र सडक यात्रामा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।


