काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ।
हाल कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी प्रदेशको तराईका केही स्थान, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा राति भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।


