Sunday, November 8, 2026
Homeसामाचारदेशभर मनसुनी प्रभाव, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १ साउन — हाल देशभर मनसुनी वायु सक्रिय रहेका साथै भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव नेपालमा परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा मौसममा प्रभाव परेको हो।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, ती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ।

देशका उच्च पहाडी तथा हिमाली भेगमा समेत हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरीसमेत चल्न सक्ने अनुमान गरिएको छ।

सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहने भन्दै महाशाखाले सतर्कता अपनाउन आह्वान गरेको छ। विशेष गरी सहरी तथा तराई क्षेत्रहरूमा डुबानको खतरा रहेकाले त्यहाँका बासिन्दालाई सचेत रहन अनुरोध गरिएको छ।

महाशाखाले ठूला–साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, जसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने जनाउँदै आवश्यक सतर्कता र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका