काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायूसँगै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ।
यसको प्रभावका कारण मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने तराईका अन्य क्षेत्रहरूमा आंशिक बदली देखिएको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ। ती प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। कोशीका केही स्थानमा र मधेश, बागमती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै अन्य प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।


