काठमाडौँ: हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ। साथै, बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावस्वरूप देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित अन्य पहाडी भूभागका केही स्थानहरूमा र बाँकी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतः सफा देखि आंशिक बदली रहनेछ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र अन्य प्रदेशका एक–दुई स्थानमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
मौसमको यो अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।