काठमाडौं: हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने अन्य अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको विभागको पूर्वानुमान छ।
यी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र देशका अन्य केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ।
आज राति पनि कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
विभागले सम्भावित मेघगर्जन, चट्याङ र वर्षाका कारण आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


