काठमाडौँ: हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहँदा बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, देशका हिमाली भू–भागका केही स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति पनि देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशसहित पहाडी भागका एकदुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भू–भागका एकदुई स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना पनि रहेको जनाइएको छ।