काठमाडौं । सुनसरीको देवानगञ्ज घटनापछि पूर्वी तराईमा उत्पन्न तनावग्रस्त अवस्था विस्तारै सामान्य बन्दै गएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वित परिचालनपछि प्रभावित क्षेत्रमा शान्ति–सुरक्षाको अवस्था सुधारोन्मुख रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
नेपाली सेनाका पूर्वी पृतनापति गौरवकुमार केसी तथा सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मनिष थापा ले स्थिति नियन्त्रणमा आउँदै गएको जानकारी दिँदै सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा फौजलाई ‘हाई अलर्ट’मा राखिएको बताएका छन्।
गृहमन्त्री सुधन गुरुङ घटनास्थल कप्तानगञ्ज पुगेर पीडित परिवारसँग प्रत्यक्ष वार्ता गरेपछि अवस्था सामान्य बनाउन उल्लेखनीय सहयोग पुगेको सुरक्षा निकायको निष्कर्ष छ। सरकार र पीडित पक्षबीच भएको सातबुँदे सहमतिपछि मृतकको शव बुझ्ने तथा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने प्रक्रिया पनि सुरु भएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले का अनुसार गृह सचिवको अध्यक्षतामा धार्मिक समुदायका अगुवासँग छलफल गरी सामाजिक सद्भाव कायम राख्ने प्रयास जारी छ। साथै, घटनाको निष्पक्ष छानबिनका लागि गठित समितिले पनि आफ्नो काम अघि बढाइसकेको छ।
तनाव कम हुँदै गए पनि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुनसरी, धनुषा, सिरहा र पर्सालगायत केही जिल्लाका प्रभावित क्षेत्रमा अझै कर्फ्यु कायम राखिएको छ।
नेपाल प्रहरीले अवस्था पूर्ण रूपमा नियन्त्रणमा राख्न, सूचना संकलन तथा विश्लेषणलाई प्रभावकारी बनाउन र स्थानीय प्रहरीलाई आवश्यक निर्देशन दिन उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई तराई–मधेशका विभिन्न जिल्लामा परिचालन गरेको छ।
प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाह लाई बाँके, हिमालयकुमार श्रेष्ठ लाई मधेश प्रदेश, उमाप्रसाद चतुर्वेदी लाई कपिलवस्तु तथा ईश्वर कार्की लाई कोशी प्रदेश र सुनसरीको जिम्मेवारी दिइएको छ। यस्तै, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य लाई सिरहा र अविनारायण काफ्ले लाई सप्तरीमा खटाइएको छ।
त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराई लाई सर्लाही, सोमेन्द्रसिंह राठौर लाई पर्सा, दीपशम्शेर जबरा लाई रौतहट, नवराज अधिकारी लाई चितवन, कृष्णप्रसाद पङ्गेनी लाई महोत्तरी, होबिन्द्र बोगटी लाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँल लाई मोरङ, भुवनेश्वर तिवारी लाई धनुषा र अमरेन्द्रबहादुर सिंह लाई मधेश प्रदेशमा परिचालन गरिएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार उच्च तहका अधिकारीहरूको प्रत्यक्ष नेतृत्व, सुरक्षा निकायबीचको प्रभावकारी समन्वय तथा स्थानीय प्रशासनको सक्रियताका कारण पूर्वी तराईका प्रभावित जिल्लाहरूको अवस्था क्रमशः सामान्य बन्दै गएको छ।


