काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि डडेलधुराबाट उम्मेदवारी दिएका नैनसिंह महरले चुनावी घरदैलो अभियानलाई तीव्र बनाएका छन्। उनले तडकभडकभन्दा संस्कारयुक्त प्रचार अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएका छन्।
महर टोलटोल तथा घरघरमा पुगेर आफ्ना धारणा राख्नुका साथै जनताको समस्या र सुझाव सुन्ने कार्यमा सक्रिय देखिएका छन्। उनले होटल तथा औपचारिक जमघटलाई सीमित गर्दै जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको बताएका छन्। विद्यार्थी राजनीतिबाट उदाएका महर बौद्धिक छवि बनाएका नेताका रूपमा परिचित छन्।
यस पटक महर पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको राजनीतिक उत्तराधिकारीका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। डडेलधुरामा कांग्रेस एकताबद्ध भएकाले आफ्नो जित सुनिश्चित हुने उनको दाबी छ।
महरले अग्रज नेताहरूको मार्गदर्शन र युवाको उत्साहलाई साथ लिएर चुनावी अभियान अघि बढाएको बताए। उनले डडेलधुराको भूगोल, जनजीवन र समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै संसदमा ती विषय प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाए।
देउवाले आफूलाई विश्वास गरेर युवा अनुहारका रूपमा अघि सारेको बताउँदै उनले डडेलधुराको विकासका अधुरा योजना पूरा गर्ने अठोट व्यक्त गरे। उनले समृद्ध डडेलधुरा निर्माणका लागि निरन्तर अग्रसर रहने र देउवाको राजनीतिक विरासतलाई सम्मानपूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
महरले नेपाली कांग्रेसलाई जनताको भावना अनुसार काम गर्ने पार्टी भएको दाबी गर्दै अस्थायी रूपमा उदाएका राजनीतिक दलप्रति जनतालाई सचेत रहन आग्रह गरेका छन्। देशको जटिल राजनीतिक अवस्थाबाट निकास दिन सक्षम शक्ति कांग्रेस भएको उनको भनाइ छ।
उनले राणा शासनको अन्त्य, राजतन्त्रको अन्त्य, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कार्य तथा संविधान जारी गर्ने ऐतिहासिक भूमिकामा कांग्रेसको नेतृत्व रहेको उल्लेख गरे।
डडेलधुराको पर्यटन तथा धार्मिक क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने योजना पनि महरले अघि सारेका छन्। उनले अजयमेरु कोटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, भागेश्वर धामको संरक्षण तथा प्रवर्द्धन गर्ने र डडेलधुरा सदरमुकामको पूर्वाधार तथा पर्यटन विकासलाई गति दिने प्रतिबद्धता जनाएका छन्।
डडेलधुरा क्षेत्रबाट शेरबहादुर देउवा विगत ३४ वर्षदेखि निर्वाचित हुँदै आएका छन्। यस पटक सो विरासतलाई निरन्तरता दिने चुनौती महरको काँधमा आएको छ।


