गण्डकी — चर्चित गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा अहिले अमेरिकाको साङ्गीतिक यात्रामा छन्। दसैँअघि बेलायतमा प्रस्तुति दिएर फर्किएका थापा तिहारको अवसर पारेर अमेरिका पुगेका हुन्।
गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरु भएको थापाको अमेरिकी टुर नोभेम्बर २२ मा डल्लासमा पुगेर टुङ्गिनेछ। उनले अमेरिकाका ११ सहरमा साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको छ। “आउँदो शनिबार न्युयोर्कमा प्रस्तुति दिँदैछु,” थापाले रासससँग भने, “तिहारको माहोलमा अमेरिकामा रहेका नेपालीहरूसँग भेट हुने अवसर पाउँदा निकै उत्साहित छु।”
यो थापाको पहिलो अमेरिका यात्रा हो। डेढ महिनाको यस यात्रामा उनले न्युयोर्क, बाल्टिमोर, कोलम्बस, भर्जिनिया, कोलोराडो लगायतका सहरमा प्रस्तुति दिनेछन्।
थापाको साङ्गीतिक यात्रा पछिल्लो वर्षदेखि झनै सक्रिय बनेको छ। उनको गीत ‘दुश्मन हेरेको हेरै…’ युट्युबमा १३ करोडभन्दा बढी पटक हेरिएको छ। गीतले युट्युब ट्रेन्डिङको पहिलो स्थान हासिल गर्दै विश्व ट्रेन्डिङमा समेत प्रवेश गरेको थियो। यस गीतले उनको करिअरमा नयाँ उचाइ दिएको थापाको भनाइ छ।
“भगवानरूपी दर्शक–स्रोताले दिनुभएको सम्मान केबल भ्यूजको संख्या होइन, यो सपना पूरा भएको क्षण हो,” थापाले त्यसबेला भावुक हुँदै भनेका थिए।
उक्त गीतमा थापासँगै आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानले स्वर दिएका छन्। शब्द, संगीत र संयोजन सबै थापाकै हुन्। म्यूजिक भिडियोमा प्रियंका कार्की, कविता नेपाली, पेमा लामा लगायतले अभिनय गरेका छन्।
थापाले हालसालै सार्वजनिक गरेको गीत ‘जाने भए जाम माया…’ पनि चर्चा पाइरहेको छ।
“‘दुश्मन हेरेको हेरै…’ ले मलाई नयाँ ऊर्जा दिएको छ,” थापाले बताए, “कतिपय कार्यक्रमका निम्तो भए पनि व्यस्तताका कारण सबैमा सहभागी हुन सकेको छैन।” अमेरिकापछि उनी क्यानाडा र युरोपको साङ्गीतिक यात्रामा जाने तयारीमा छन्।
थापाको माग पछिल्ला वर्षहरूमा देश–विदेशमा तीव्र रूपमा बढेको छ। गत फागुन महिनामा मात्रै उनले नेपालभरका ३२ भन्दा बढी स्थानमा प्रस्तुति दिएका थिए।
“सधैं यही स्थानमा रहन सक्दिन, मेरो ठाउँमा अर्को प्रतिभा आउनेछ,” उनले भने, “तर म आज जहाँ छु, त्यो आफ्नै मेहनत र कर्मको फल हो।”
थापाले सयौं गीतमा स्वर दिएका छन् र अनेक म्यूजिक भिडियोमा अभिनय गरेका छन्। उनका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा…’, ‘डाँडै बिसौनी…’, ‘जूनले मात्र देख्छ…’, ‘हाँस्न सिकायौँ…’ लगायतका गीत लोकप्रिय छन्। चलचित्र ‘छ माया छपक्कै…’, ‘ह्रस्वदीर्घ’ र ‘रङ्गी’ का गीतमा पनि उनको स्वर र संगीत सुन्न सकिन्छ।
कलाकारितामा प्रवेश गर्नुअघि थापा रेस्टुराँ र बारमा नृत्यकारको रूपमा काम गर्थे। अहिले उनी गायक, सर्जक र ‘स्टेज पर्फमर’का रूपमा स्थापित भएका छन्।
बागलुङको गलकोट–७ मल्मबाट २०६३ सालतिर राजधानी आएका थापाको सपना मोडल बन्ने थियो। गायक बसन्त थापाको साथ पाउँदा उनी संगीत र अभिनयमा डुब्दै गए। “बसन्त दाइ मेरो प्रेरणास्रोत र गुरु हुनुहुन्छ,” थापाले सम्झिए।
२०६५ सालमा बिमल डाँडीको दसैं गीतको म्यूजिक भिडियोबाट उनले पहिलोपटक अभिनय गरेका थिए। पछि पूर्णकला बिसीसँग मिलेर उनले पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जुन लाएको हो…’ गाए।
थापाले हालै ‘जेनजी’ आन्दोलनका घाइतेलाई आर्थिक सहयोगसमेत गरेका छन्। उनले घाइते ११ जनालाई प्रति जना रु १० हजारका दरले सहयोग गरेका थिए। “जेनजी युवामा देखिएको देशप्रेम र त्यागले मलाई गर्व महसुस गराएको छ,” थापाले भने।
१९ वर्षको सिर्जनात्मक यात्रामा संघर्ष र सफलताको उचाइ चुमिरहेका दुर्गेश थापा आजको पुस्तामाझ एक सशक्त साङ्गीतिक र स्टेज आइकनका रूपमा स्थापित भएका छन्।


