काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा नष्ट भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता अपरिहार्य रहेको बताएका छन्।
काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा भएको आगजनी तथा तोडफोडपछि शुक्रबार स्थल निरीक्षणमा पुगेका मन्त्री घिसिङले सरकारका पूर्वाधार तथा निजी सम्पत्तिहरूमा व्यापक क्षति पुगेको जानकारी दिए।
‘देशैभरि सरकारी संरचनाहरू ध्वस्त भएका छन्, जलेका छन्,’ उनले भने, ‘अब हामी सबैले यी संरचनाहरू आफ्नै श्रम र सहयोगमार्फत पुनर्निर्माण गर्ने संकल्प गर्नुपर्छ। सरसफाइ र पुनर्निर्माण अभियानलाई देशैभरि निरन्तरता दिनुपर्छ। यो अभियान देश निर्माणकै अभियान हो।’
उनका अनुसार करिब डेढदेखि दुई खर्ब रुपैयाँ बराबरको संरचना नष्ट भएको अनुमान गरिएको छ। यस्ता संरचनाको पुनर्निर्माणका लागि श्रमदान र आर्थिक सहयोग दुवै आवश्यक रहेको उल्लेख गर्दै उनले देशभित्र र विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एक्यवद्धता जनाउन आग्रह गरे।
सरकारले पुनर्निर्माण कोष स्थापना गरिसकेको जानकारी दिँदै मन्त्री घिसिङले उक्त कोषमा इच्छाअनुसार आर्थिक सहयोग गर्न सबैलाई आह्वान गरे।
यसअघि भएका आन्दोलनका क्रममा विभिन्न जिल्लामा सरकारी भवन, सवारी साधन तथा अन्य सार्वजनिक सम्पत्तिहरूमा ठूलो क्षति पुगेको थियो। सरकार पुनर्निर्माण र सुधारका लागि पहल सुरु गरिसकेको छ।


