Sunday, November 8, 2026
Homeसामाचारदुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

बनियानी (झापा), १ भदौ – झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई घाटमा विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको छ। कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा नदीको पूर्वी तटमा उक्त संरचना तयार गरिएको हो।

विद्युतीय शवदाह गृहमा प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र दाताहरूको रु १० लाख लगानी छ। नगर प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार सम्झौता अनुसार यसको सञ्चालन कनकाई नगरपालिकाले गर्नेछ। “शवदाह गृह सञ्चालनका लागि कार्यविधि तयार भइसकेको छ, एक साताभित्रै विधिवत् सञ्चालन गर्ने तयारी छ,” उहाँले जानकारी दिनुभयो।

विद्युतीय शवदाह गृहको निर्माण भारतीय प्राविधिक टोलीले सम्पन्न गरेको कन्काई घाट व्यवस्थापन समितिका महासचिव गोपाल खरेलले बताए। गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिकाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको थियो।

उक्त प्रणालीमार्फत एक शव दहन गर्न करिब ५० मिनेट लाग्ने जनाइएको छ, जबकि परम्परागत रूपमा दाउराको प्रयोग गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने गर्छ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा यसका लागि रु दुई करोड विनियोजन गरेको थियो। निर्माण सम्पन्न भएपछि स्थानीयस्तरबाट उठ्दै आएको माग सम्बोधन भएको छ। विसं २०६७ मा स्थापना भएको कनकाई घाटमा हाल पाँचवटा परम्परागत चितास्थल सञ्चालनमा छन्। विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाउराको खपत र समय बचत हुनुका साथै वातावरण संरक्षणमा पनि सहयोग पुग्ने बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका