Tuesday, September 15, 2026
Homeसामाचारदुईदिने सार्वजनिक बिदापछि अन्य बिदा पुनरावलोकन गरिने, सरकारले बनायो कार्यदल

दुईदिने सार्वजनिक बिदापछि अन्य बिदा पुनरावलोकन गरिने, सरकारले बनायो कार्यदल

काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गरेपछि हाल कायम रहेका अन्य सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सोमबार मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सार्वजनिक बिदाको संख्या, औचित्य तथा प्रभावबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहनेछन्।

सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू गरेसँगै सेवा प्रवाह, सरकारी कार्यसम्पादन तथा सार्वजनिक बिदाको समग्र प्रभावको मूल्याङ्कन आवश्यक ठहर गर्दै कार्यदल गठन गरिएको जनाएको छ।

गठित कार्यदललाई हाल कायम रहेका सार्वजनिक बिदाको अध्ययन तथा पुनरावलोकन गरी १५ दिनभित्र प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। उक्त प्रतिवेदन गृह मन्त्रालयमा बुझाउनुपर्ने निर्णय पनि सचिव बैठकले गरेको छ।

सरकारले कार्यदलको सिफारिसका आधारमा सार्वजनिक बिदा व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र समयानुकूल बनाउने अपेक्षा गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका