काठमाडौं । आज तिहारको मुख्य दिन भाइटीका देशभर हर्षोल्लासका साथ मनाइँदैछ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीबीचस्थित बालगोपालेश्वर मन्दिर खुल्ने परम्परा रहँदै आएको छ ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक, भाइटीकाको दिनमात्र सर्वसाधारणका लागि खुलाइन्छ । दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले यस दिन उक्त मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने चलन छ ।
त्यसैगरी, जयबागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा–अर्चना र टीका लगाउने प्रथा रहेको छ ।
विसं २०३५ सालपछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा भाइटीकाको दिन सर्वसाधारणका लागि खोल्ने परम्परा सुरु भएको हो । नेवार समुदायले भाइटीकाको दिनलाई ‘किजा पूजा’ का रूपमा मनाउने गरेका छन् ।


