Sunday, November 8, 2026
Homeसामाचारदाङमा छुट्टाछुट्टै घटनामा चार किशोरको मृत्यु

दाङमा छुट्टाछुट्टै घटनामा चार किशोरको मृत्यु

देउखुरी (दाङ), ३१ असारः दाङमा भएको दुई छुट्टाछुट्टै घटनामा चार किशोरको मृत्यु भएको छ। एक घटनामा बबई नदीमा पौडी खेल्ने क्रममा दुई किशोर डुबेर ज्यान गुमाएका छन् भने अर्को घटनामा मोटरसाइकल दुर्घटनामा दुई किशोरको मृत्यु भएको हो।

डुबेर मृत्यु भएका किशोरहरू तुलसीपुर उपमहानगरपालिका–२ निवासी १७ वर्षीय विधान केसी र १६ वर्षीय कुशल बुढामगर हुन्। उनीहरू आफ्ना साथीहरूसँग बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरूलाई खोजी गर्दा मृत्यु भएको पाइएको हो। हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीले घटना पुष्टि गर्नुभयो। दुबैको शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।

त्यसैगरी, रामपुर–घोराही सडकखण्डको सिस्नेखोला पुलमा भएको मोटरसाइकल दुर्घटनामा पनि दुई किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक रहेका छन्। दुर्घटनामा घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारका क्रममा सोमबार साँझ निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो।

दुर्घटना भएको मोटरसाइकल (रा७प ३२७० नम्बर) रामपुरबाट घोराहीतर्फ आउँदै गर्दा घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा बेलुका ७ बजेतिर आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुबै जनाको शव प्रतिष्ठानमै राखिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका