Sunday, November 8, 2026
Homeसामाचारदसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

चितवन, १४ असोजः दसैँको महाअष्टमीमा घरघरमा खसी, बोका, राँगा, च्याङ्ग्रा आदिको बलि दिएर मासु खाने परम्परा छ। चिकित्सकहरूले मासु खानै नहुने नभई स्वस्थ मासुलाई सही तरिकाले पकाएर खानुपर्ने सुझाव दिएका छन्।

पुष्पाञ्जली अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीका अनुसार दसैँमा खानपिनमा ध्यान नदिँदा उच्च रक्तचाप, मुटु, मधुमेह, पेटसम्बन्धी समस्या, झाडाबान्ता, कब्जियत, युरिक एसिड वृद्धि र ग्यास्ट्रिकका बिरामी बढ्ने गरेका छन्। उहाँले बोसो नभएको ताजा मासु थोरै गरेर मात्र खान सकिने बताए।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. गुरुशरण साह र डा. विनय ठाकुरले रातो मासु पोलेर वा धेरै भुटेर खाँदा क्यान्सरको जोखिम बढ्ने चेतावनी दिएका छन्। उनीहरूले बासी मासु नखाने, सागसब्जी र गेडागुडी खानामा समावेश गर्ने, तथा बरु कुखुराको मासु वा माछा खाने सुझाव दिएका छन्।

चितवन मेडिकल कलेजका डा. सौरभ खतिवडाले बोसो बढी भएको मासु खाँदा मोटोपना, चिनीको मात्रा वृद्धि, र कोलेस्ट्रोलको समस्या हुने बताए। पोलेको वा भुटेको मासु स्वास्थ्यका लागि हानिकारक भएकाले बोसोरहित मासु कम मात्रामा खानुपर्ने उनको सुझाव छ।

मुटुरोग विशेषज्ञ प्रा. डा. श्यामराज रेग्मीले मुटुरोगीले विशेष सावधानी अपनाउनुपर्ने बताए। सामान्य मुटुरोग मात्र भएको अवस्थामा भने थोरै मासु खान सकिने तर धेरै चिल्लोले मुटुलाई असर गर्ने भएकाले ध्यान दिनुपर्ने उनको भनाइ छ।

चिकित्सकहरूले दसैँ रमाइलो गर्न सल्लाह दिँदै खानपिनमा सन्तुलन राख्न आग्रह गरेका छन्। मिठाइ वा मासु पूर्णरूपमा त्याग्नुपर्ने नभई, थोरै मात्रामा स्वस्थ तरिकाले सेवन गर्दा स्वास्थ्यमा समस्या नहुने उनीहरूको सुझाव छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका