Tuesday, May 20, 2025
Homeसामाचारथन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै

थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै

रुपन्देही: पर्यटकलाई सेवा दिने उद्देश्यले लुम्बिनी विकास कोषले सञ्चालनमा ल्याएका विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन बन्दै गएका छन्।

एसियाली विकास बैंकको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत क्लिन इनर्जी फण्डबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ वटा विद्युतीय सवारीसाधन लुम्बिनी क्षेत्रमा ल्याइएको थियो।

लुम्बिनीमा भित्र्याइएका १४ भ्यान र पाँच बस वातानुकूलित, अपाङ्गमैत्री र स्वचालित ढोका भएका छन्। प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमताको व्यवस्था छ। यी सवारीसाधनहरू एकपटक पूरा चार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्न सक्छन् भने कार्डमार्फत भुक्तानी गर्ने सुविधा पनि उपलब्ध छ।

यही वैशाख १३ गते लु१झ ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्रामक्षेत्रभित्र अनियन्त्रित भई दुर्घटना भएको थियो। सेतो नम्बर प्लेट भएका यी सवारीसाधनलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न सर्वोच्च अदालतले एक महिनाको समयसीमा तोकेर परमादेश जारी गरेको थियो। तर लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँका अनुसार तोकिएको समयसीमा सकिए पनि स्थिति यथावत् छ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, “कानुनी अस्पष्टताका कारण सेतो नम्बर प्लेट भएका सवारीसाधनलाई प्रयोगमा ल्याउन कठिनाइ भएको थियो। अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ र अब हरियो प्लेट बनाएर उद्देश्यअनुसार प्रयोगमा ल्याइनेछ।”

लामो समयसम्म खुला आकाशमुनि राख्दा जाम हुने, बिग्रने र ब्याट्री डिस्चार्ज हुने जोखिम बढेपछि कोषले आन्तरिक प्रयोजनका लागि सवारीसाधनहरू प्रयोग गरेको थियो। यस क्रममा केही साधनमा सामान्य क्षति पुगेको भए पनि आगामी दिनमा यस्तो नहोस् भन्ने ध्यान दिइने कोषले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका