काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीको जलसतहमा तीव्र वृद्धि भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ७ बजे धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह ३ मिटरले बढेको हो।
भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूलीको तल्लो तटीय क्षेत्रमा जोखिम बढेको महाशाखाले जनाएको छ। साथै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा भएकाले नारायणी नदी तथा यसका सहायक नदीहरूको जलसतह थप बढ्न सक्ने अनुमान गरिएको छ।
महाशाखाले जारी गरेको विशेष सूचनामा रसुवाबाट आएको बाढी र गण्डकी प्रदेशमा भइरहेको भारी वर्षाका कारण नारायणी नदीको जलसतह बढ्दो क्रममा रहेको जनाएको छ।
महाशाखाले चितवन, नवलपरासी लगायत नारायणी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आज दिनभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


