Saturday, January 18, 2025
Homeसामाचारतालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु

तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु

काठमाडौँ: नेपालमा हरेक हिउँद सिजनमा जाडो छल्नका लागि उत्तरीध्रुवीय क्षेत्रका चराहरु आउने परम्परा यस वर्ष पनि कायम रहेको छ। रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायत अत्यधिक चिसो क्षेत्रबाट जलपन्छी नेपालमा तापक्रमको अनुकूलता खोज्दै आइपुग्ने गरेका छन्।

चराविद्हरुका अनुसार, यी जलपन्छी आफ्नो यात्रा क्रममा बाटोमा पर्ने ताल, तलैयामा विश्राम गरेर अघि बढ्ने गर्छन्। तर, कर्‍याङकुरुङ सारस जस्ता प्रजाति भने प्रतिकूल मौसम बाहेक निरन्तर सयौँ किलोमिटर उडेर यात्रा पूरा गर्छन्।

यसैगरी, हजारौँ चरा नेपाल हुँदै भारतको राजस्थानसम्म पुग्ने र फर्किंदा पाकिस्तान, अफगानिस्तानको बाटो प्रयोग गर्ने गरेका छन्। चराहरुको आगमन भदौ महिनादेखि पुसको मध्यसम्म जारी रहने र चैतसम्ममा ती चरा आफ्नो स्थायी वासस्थान फर्कने प्रचलन रहेको छ। नेपालमा हिउँदमा बसाइँ सर्ने मुख्य पानी चरामा हाँस, जलेवा, गङ्गाचीलजस्ता प्रजाति पर्दछन्।

यसै समय, नेपालका प्रमुख नदी, ताल, तलैया तथा सिमसार क्षेत्रमा यी आगन्तुक चराको चहलपहल निकै बढेको छ। अहिलेको समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण अद्यावधिक गर्न जलपन्छी गणना सुरु गरिएको छ।

नेपाल पन्छीविद् सङ्घको समन्वयमा देशव्यापी रूपमा जलपन्छी गणना भइरहेको छ। सङ्घका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौड्यालका अनुसार, यो गणनाले जलपन्छीको प्रजाति, सङ्ख्या, वासस्थानको अवस्था पत्ता लगाउन सहयोग पुर्‍याउँछ। जनवरीको पहिलो शनिबारदेखि सुरु हुने यो गणना यस वर्ष पुस २० गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुनेछ।

गणनामा हिमाली प्रकृति, वर्ड कन्जरभेसन नेपाललगायतका स्थानीय सङ्घ–संस्था, चरा संरक्षणकर्मी तथा सरकारी अधिकारीहरुको सहभागिता रहेको छ। सन् १९८७ देखि नियमितरूपमा सञ्चालन हुँदै आएको यो गणनाको नेतृत्व अन्तर्राष्ट्रिय संस्था ‘वेटल्यान्ड इन्टरनेसनल’ले गर्छ।

सन् २०२४ मा गरिएको जलपन्छी गणनामा १८ प्रमुख सिमसार क्षेत्रका ८४ साना क्षेत्रमा ४०२ स्वयम्सेवकले ७९ प्रजातिका ६३,९०० जलपन्छी रेकर्ड गरेका थिए।

पश्चिम क्षेत्र परियोजना फिल्ड अधिकृत हिरुलाल डंगौरले यो गणनाबाट जलवायु परिवर्तन, सिमसार क्षेत्रको स्थिति, सिकार गर्ने प्रवृत्ति र वासस्थानको विनाशबारे जानकारी पाइएको बताउनुभयो। उहाँका अनुसार, चराको प्रजातिमा ठूलो परिवर्तन नआए पनि सङ्ख्यामा कमी आएको छ।

“नेपालमा ८९७ प्रजातिका चरामध्ये २०० हाराहारी जलपन्छी छन्,” अधिकृत डंगौरले भन्नुभयो। उहाँले यसपटक कैले टाउने हाँस, मालक हाँस र मरुल हाँसजस्ता नयाँ प्रजाति रेकर्ड भएको जानकारी दिनुभयो।

चराहरुले कोशीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज, पोखराका ताल, बीसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा कोशी, गण्डकी, नारायणी नदी क्षेत्रमा जाडो समय बिताउने गर्छन्।

कोशी पक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाले कोशीका विभिन्न क्षेत्रको गणनामा चराको सङ्ख्या अपेक्षित देखिएको जानकारी दिनुभयो। यद्यपि, सिमसार क्षेत्रमा जलकुम्भी, मिचाहा प्रजातिको वृद्धि, अनियन्त्रित माछा मार्नेलगायतका कारण चराको आहारामा चुनौती देखिएको उहाँले उल्लेख गर्नुभयो।

चरासम्बन्धी जानकारका अनुसार, यो गणनाले सिमसार क्षेत्रको अवस्था, जलपन्छीको प्रजनन, बसाइँसराइको अवस्था र जलवायु परिवर्तनको प्रभावबारे महत्वपूर्ण जानकारी उपलब्ध गराउँछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका