Wednesday, March 19, 2025
Homeसुन्दर नेपालताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म पहिलोपटक मोटरसाइकल यात्रा सफल

ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म पहिलोपटक मोटरसाइकल यात्रा सफल

फुङ्लिङ (ताप्लेजुङ): समुद्री सतहबाट ५,१०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म पहिलोपटक मोटरसाइकल यात्रा गरिएको छ। गत बुधबार चन्द्र माबोले यो साहसिक यात्रा पूरा गरेका हुन्।

राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोड्ने महत्वपूर्ण भूमिका खेलेको छ। भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ। हालै चीनको सिमावर्ती क्षेत्र ओलाङचुङगोला पुग्ने बोलेरो गाडी सञ्चालनमा आएपछि थप २४ किलोमिटर कठिन हिमाली सडक पार गर्दै मोटरसाइकल टिप्ताला भञ्ज्याङसम्म पुगेको हो।

पहिलो मोटरसाइकल यात्रा
फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका कार्यपालिका सदस्य टासी शेर्पाले यसअघि गाडी टिप्तालासम्म पुगेको भए पनि मोटरसाइकलले पहिलोपटक यो यात्रा पूरा गरेको बताए।

चन्द्र माबोका अनुसार सुकेपानीदेखि ओलाङचुङगोला खण्डसम्मको यात्रा अत्यन्त कठिन छ। अझ ओलाङचुङगोलाबाट माथि हिमाली क्षेत्रको जटिलताले यात्रा झन् चुनौतीपूर्ण हुने उनले बताए। अत्यधिक चिसो, अक्सिजनको कमी, र मोटरसाइकलको शक्ति घट्ने समस्याले यात्रा जोखिमपूर्ण बनाएको माबोले अनुभव सुनाए।

पर्यटन र व्यापारमा नयाँ सम्भावना

फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार यो सफल यात्राले टिप्ताला भञ्ज्याङलाई साहसिक पर्यटनका लागि नयाँ गन्तव्य बनाउन सहयोग गर्नेछ। लिम्बूले टिप्ताला क्षेत्रलाई व्यापारिक केन्द्रसँगै पर्यटकीय गन्तव्यका रूपमा पनि विकास गर्ने लक्ष्य रहेको बताए।

मोवाटार (४,२०० मिटर) हुँदै टिप्ताला पुग्ने यो यात्रा कठिन उकालोले भरिएको छ। सडकमा हिउँ जम्ने हुँदा गाडी तथा मोटरसाइकल चलाउन चुनौतीपूर्ण हुने चालक आइतराज थेबेले बताए। सावधानीपूर्वक यात्रा गर्नुपर्ने उनले सुझाए।

स्थानीयमा उत्साह
नेपाल र चीनको तिब्बत जोड्ने टिप्तालासम्म नेपाली गाडी र मोटरसाइकल पुगेपछि स्थानीय उत्साहित भएका छन्। विशेषगरी ओलाङचुङगोला, याङ्मा र घुन्साका स्थानीयले यस सडक विस्तारले यातायात सहज बनाउने अपेक्षा गरेका छन्।

विराटनगरको रानीबाट तमोर करिडोर हुँदै उत्तर-दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ। दुई सय ९२ किलोमिटर लामो यो सडक भारत, नेपाल र चीनलाई जोड्ने छोटो मार्गका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका