काठमाडौँ – नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका बन्द हुँदा दसैँका सामान बिक्रीमा समस्या भएको व्यापारीहरूले गुनासो गरेका छन्।
व्यवसायीका अनुसार प्रमुख दुई नाका वर्षाका कारण अवरुद्ध हुँदा दसैँका लागि ल्याइएका हजारौँ कन्टेनरका सामान नाकामै अड्किएका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले चीनतर्फबाट आउने दुई प्रमुख नाका बन्द हुँदा सामान नाकामा रोकिएको बताउनुभयो। गत असार २४ गते सिमानामा बग्ने लेन्दे खोलामा आएको बाढीले मितेरी खोलाको पुल बगाएको र पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। पुल नबनिएकाले हालसम्म राजमार्ग सञ्चालनमा आउन सकेको छैन।
त्यस्तै, करिब एक महिनादेखि सिन्धुपाल्चोकको तातोपानी नाका पनि बन्द छ। अरनिको राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक सञ्चालनमा आउन नसकेकाले सामान अड्किएको कार्कीले जानकारी दिनुभयो।
राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठका अनुसार दुवै नाका बन्द भएपछि लत्ताकपडा र कच्चा पदार्थ नआउँदा उद्योगी–व्यवसायी मारमा परेका छन्। हाल तातोपानी नाकामा ३ हजारभन्दा बढी र केरुङ नाकामा १ हजार ५०० भन्दा बढी कन्टेनर रोकिएको उहाँले बताउनुभयो।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले दसैँको पूर्वसन्ध्यामा बाटो बन्द हुँदा व्यवसायीको चिन्ता बढेको धारणा राख्नुभयो। “जेनजी आन्दोलनका कारण समयमा सामान ल्याउन नसक्दा व्यापारीहरू समस्यामा परेका छन्,” उहाँले भन्नुभयो।
दसैँमा सामान नआउँदा व्यापार प्रभावित हुनुका साथै भएका सामान महँगोमा खरिद गर्नुपरेको ग्राहकहरूले गुनासो गरेका छन्।
काठमाडौँको कीर्तिपुरबाट न्युरोडमा किनमेल गर्न आएका हीराकाजी महर्जनले यो वर्ष लत्ताकपडा गत वर्षको तुलनामा महँगो भएको बताए। दसैँ अघि महाबौद्ध, असन, न्युरोड, कलङ्की, चाबहिल, कोटेश्वर, बानेश्वरलगायत बजार क्षेत्रमा लत्ताकपडा किन्ने ग्राहकको भीड लाग्ने गर्दछ।


