काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन्।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ भने देशका केही भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदलीको सम्भावना रहेको छ।
यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि तराई भू–भागका केही स्थानमा हुस्सु कायमै रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।


