चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादीको प्रयोग बढ्न थालेपछि चितवनमा विषादी अवशेष परीक्षणलाई तीव्र पारिएको छ। परीक्षण बढेसँगै किसानले विषादी प्रयोग गरेलगत्तै तरकारी बजारमा बिक्रीका लागि ल्याउने क्रमसमेत घटेको पाइएको छ।
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित महानगर तरकारी तथा फलफूल थोकबजार परिसरमा रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्ला वर्षहरूमा तरकारी परीक्षणको दर बढ्दै गएको छ।
प्रयोगशालामा गत आर्थिक वर्षमा एक हजार १७२ वटा तरकारीका नमुना परीक्षण गरिएको थियो। चितवनसहित जुनसुकै जिल्लाबाट थोकबजारमा ल्याइएका तरकारीको नमुना संकलन गरी विषादी परीक्षण गर्ने गरिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिए।
उनका अनुसार गत आर्थिक वर्षमा परीक्षण गरिएका नमुनामध्ये ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएका एक हजार १५८ नमुना उपभोगयोग्य भेटिएका थिए। यस्तै, १० वटा नमुनामा ३५ देखि ४५ प्रतिशतसम्म विषादी अवशेष पाइएको थियो। यस्ता तरकारी केही दिनपछि मात्र उपभोग गर्न मिल्ने हुन्छ।
चार वटा नमुनामा ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष पाइएको थियो। ती नमुना उपभोगका लागि अनुपयुक्त भएकाले नष्ट गरिएको कँडेलले बताए। ४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भएका तरकारी बिक्री–वितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले नमुनासहित ती तरकारी ल्याइएको स्थानबाट संकलित उत्पादनसमेत नष्ट गरिएको हो।
आर्थिक वर्ष २०८१/८२ मा प्रयोगशालाले ९०७ वटा तरकारीका नमुना परीक्षण गरेको थियो। तीमध्ये पाँच वटा नमुना नष्ट गर्नुपर्ने, आठ वटा केही दिनपछि मात्र उपभोग गर्न सकिने र ८९४ वटा नमुना उपभोगयोग्य पाइएको थियो।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा ५९० वटा नमुना परीक्षण गरिएको थियो। तीमध्ये चार वटा नष्ट गर्नुपर्ने, नौ वटा केही दिन राखेर मात्र प्रयोग गर्नुपर्ने र ५७७ वटा नमुना उपभोगयोग्य भेटिएका थिए।
प्रयोगशालामा गोलभेँडा, तनेबोडी, सिमी, भण्टा, भेडेखुर्सानी, काउली, बन्दा, करेला, काँक्रो, साग, घ्युसिमीलगायत तरकारी तथा विभिन्न फलफूलमा विषादी अवशेष परीक्षण गर्ने गरिएको छ।
कँडेलका अनुसार तरकारीको विषादी परीक्षण हुने भएपछि किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्रीका लागि ल्याउने क्रम घटेको छ। विषादी प्रयोग गरेपछि मानव स्वास्थ्यमा असर पर्ने गरी तत्कालै तरकारी बजारमा नल्याउन किसानलाई सचेत गराउने गरिएको उनले बताए।


