Saturday, November 7, 2026
Homeसामाचारतमु ल्होसार आज, गुरुङ समुदायले नयाँ वर्ष भव्य रूपमा मनाउँदै

तमु ल्होसार आज, गुरुङ समुदायले नयाँ वर्ष भव्य रूपमा मनाउँदै

काठमाडौँ, १५ पुस — गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ।

तमु ल्होसार गुरुङ समुदायको प्रमुख पर्व हो, जसलाई उनीहरूले नयाँ वर्षका रूपमा उल्लासपूर्ण र भव्य रूपमा मनाउने गर्छन्। यो पर्व सूर्यको किरणसँग सम्बन्धित मानिन्छ। गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतलगायत जिल्लामा सूर्यको ताप चाँडो पुग्ने भएकाले पुस महिनामै तमु ल्होसार मनाइने विश्वास छ।

जानकारहरूका अनुसार पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो रात हुने र त्यसपछि रात क्रमशः छोटिँदै जाने भएकाले पनि यस दिनको विशेष महत्त्व रहेको छ। यसै कारण तमु ल्होसारलाई उज्यालो र नयाँ सुरुवातको प्रतीकका रूपमा लिइन्छ।

तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। पर्वका अवसरमा काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायको विशेष कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा सहभागीहरू परम्परागत तथा सांस्कृतिक वेषभूषामा सजिएर उपस्थित हुनेछन्।

यस अवसरमा गुरुङ समुदायका मौलिक परिकारहरूको प्रदर्शनीसमेत गरिनेछ। आइतबारदेखि टुँडिखेलमा सुरु भएको ल्होसार महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका