तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय तनहुँले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा महिला मतदाताको संख्या पुरुषभन्दा बढी रहेको छ।
कुल मतदातामध्ये एक लाख २३ हजार ४९१ पुरुष मतदाता छन् भने महिला मतदाता एक लाख ३० हजार ९०६ रहेका छन्। जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम देवघाट गाउँपालिकामा छन्।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँमा क्षेत्र नम्बर १ मा एक लाख ३६ हजार ११८ र क्षेत्र नम्बर २ मा एक लाख १८ हजार २७९ मतदाता छन्। निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछन्। क्षेत्र नम्बर २ अन्तर्गत शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका रहेका छन्।
पालिकागत विवरणअनुसार व्यास नगरपालिकामा ५१ हजार ३०६, भानु नगरपालिकामा ४२ हजार १०४, शुक्लागण्डकी नगरपालिकामा ४० हजार ३०५ र भीमाद नगरपालिकामा २५ हजार ३११ मतदाता रहेका छन्। यसैगरी आँबुखैरेनी गाउँपालिकामा १४ हजार ६२, देवघाट गाउँपालिकामा १२ हजार ६४४, बन्दीपुर गाउँपालिकामा १६ हजार २, ऋषिङ गाउँपालिकामा १८ हजार ७४४, घिरिङ गाउँपालिकामा १४ हजार ६१३ र म्याग्दे गाउँपालिकामा १९ हजार ३०६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचनका लागि जिल्लाभर ३०९ मतदान केन्द्र तोकिएका छन्। ऋषिङ गाउँपालिका–४ र ६ मा एक–एक मतदान केन्द्र थप गरिएको कार्यालयले जनाएको छ। मतदाता नामावली दर्ता अभियानका क्रममा सात हजार ३९३ नयाँ मतदाता थपिएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालयले आन्तरिक तयारीलाई तीव्र बनाएको जनाएको छ।


