काठमाडौं। ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षापछि बन्द भएका सडकहरू छिट्टै खुलाउने तयारी भइरहेको बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सबैको सतर्कताका कारण मानवीय क्षति कम भएको उल्लेख गर्दै वर्षापछि पुगेको भौतिक क्षतिप्रति प्राथमिकताका साथ पुनर्निर्माण गरिने जानकारी दिए।
सावधानी अपनाउन आग्रह
असोज १७, १८ र १९ गतेको लगातार वर्षा र त्यसपछिका बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भइ यातायात प्रभावित भएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै जोखिमयुक्त स्थानमा अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध गरेको छ।
सडक विभागले प्रमुख राजमार्ग र सहायक सडकहरू खोल्न आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरेको छ। नारायणघाट–मुग्लिन सडकखण्डमा एकतर्फी सवारी सञ्चालन सुरु भइसकेको छ भने पोखरा–मुग्लिन र भुलभुले–बेसीशहर सडकखण्डमा पनि अवरुद्ध स्थान हटाउने काम जारी छ।
सडक विभागले स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र अन्य स्थानीय निकायसँग समन्वय गरी सडक सुचारु गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेको छ। नवीनतम जानकारीका लागि सडक विभागको आधिकारिक वेबसाइट वा सम्बन्धित नम्बरमार्फत सम्पर्क गर्न आग्रह गरिएको छ।


