ढोरपाटन (बागलुङ): नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (रातो हाब्रे)को संरक्षणमा चुनौती बढ्दै गएको छ। मुख्य बासस्थान निगालोको झाडी मासिँदै जाँदा रेडपाण्डा संकटमा पर्ने जोखिम बढेको संरक्षणकर्मीहरू बताउँछन्।
रेडपाण्डा निगालोको झाडीमा बस्ने र निगालोको टुसा खाने वन्यजन्तु हो। तर हाल जंगल फडानी र डढेलोका कारण निगालो नष्ट हुन थालेपछि यसको जीवन चक्र प्रभावित बन्न थालेको छ।
ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार, नेपालभर पाइने रेडपाण्डामध्ये सबैभन्दा बढी संख्या ढोरपाटनमा छ। यद्यपि हालसम्म औपचारिक गणना गरिएको छैन। सन् २०१७ (वि.सं. २०७४) मा गरिएको सर्वेक्षणअनुसार रेडपाण्डाको संख्या निकै कम देखिएको भए पनि अहिले झण्डै २०० देखि ३०० को हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ।
रेडपाण्डाको यथार्थ संख्या पत्ता लगाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा औपचारिक अनुरोध गरिसकेको सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार ढोरपाटन आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकमा रेडपाण्डा पाइन्छ। “पहिले छिटपुट देखिने रेडपाण्डा अहिले धेरै क्षेत्रमा बाक्लो रूपमा देखिन्छ,” सुवेदीले भन्नुभयो, “ढोरपाटनमा हाल करिब ३०० रेडपाण्डा छन् भन्ने हाम्रो अनुमान छ, जुन संख्या अन्य राष्ट्रिय निकुञ्जभन्दा बढी हो।”
सिकार आरक्ष क्षेत्रबाहेक बागलुङ जिल्लाका माथिल्ला वन क्षेत्रमा पनि रेडपाण्डा पाइने डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थीले जानकारी दिनुभयो। जंगल फडानी, डढेलो र बस्ती विस्तारका कारण रेडपाण्डाको संरक्षण थप चुनौतीपूर्ण बन्दै गएको उहाँले बताउनुभयो।
पन्थीका अनुसार रेडपाण्डा विशेषगरी कर्णाली क्षेत्रदेखि पूर्वको उच्च पहाडी तथा हिमाली भूभागमा पाइन्छ र अहिले २३ हिमाली तथा पहाडी जिल्लामा मात्र यसको उपस्थिति देखिन्छ। रेडपाण्डाको अस्तित्व जोगाउन यसको आहार निगालोको टुसाको समेत संरक्षण गर्नु आवश्यक रहेको उहाँको भनाइ छ। “रेडपाण्डा लजालु स्वभावको जनावर हो,” पन्थीले भन्नुभयो, “त्यसैले सानो हस्तक्षेपले पनि यसलाई असर पुर्याउँछ। त्यसैले स्थानीय तह र समुदाय संरक्षणप्रति सजग र उत्तरदायी बन्न जरुरी छ।”


