Friday, January 17, 2025
Homeसामाचारडेढगाउँ–झ्यालबास सडक, तीन खण्डमा रु ७३ करोडको बढीको लागतमा काम

डेढगाउँ–झ्यालबास सडक, तीन खण्डमा रु ७३ करोडको बढीको लागतमा काम

त्रिवेणी (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डेढगाउँ–झ्यालबास सडक निर्माणमा तीव्रता आएको छ। गण्डकी प्रदेश सरकारको पहलमा करिब २६ किलोमिटर लामो यो सडक तीन खण्डमा विभाजित गरी निर्माण भइरहेको छ। यसका लागि रु ७३ करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ, पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो।

यो सडक गण्डकी प्रदेशको गौरवको योजना अन्तर्गत रहेको कोरला–त्रिवेणी मार्गको हिस्सा हो। तेस्रो खण्डको काम हालै सुरु भएको छ, जसका लागि रु १४ करोड ९९ लाख ९६ हजार ५२८ बजेट छुट्याइएको छ। करिब पाँच किलोमिटर क्षेत्रमा यो खण्ड निर्माण हुँदैछ।

पहिलो खण्डमा १४ किलोमिटर सडक, पक्की नाला, टेवा पर्खाल र कालोपत्रे गर्ने कार्य समेटिएको छ। विसं २०७९ वैशाखमा सम्झौता भई यस खण्डमा रु ३२ करोड २० लाखको लागतमा काम भइरहेको छ।

दोस्रो खण्डमा सात किलोमिटर सडक निर्माण कार्य जारी छ। यसका लागि विसं २०८१ वैशाखमा सम्झौता भई रु २५ करोड ८६ लाख ९४ हजारको लागतमा निर्माण अघि बढाइएको छ।

यो सडक नवलपुरको डेढगाउँबाट सुरु भई रुचाङ, झ्यालबास, र चोरमारामार्ग हुँदै पूर्वपश्चिम राजमार्गसँग जोडिन्छ। ४१ किलोमिटर लामो यस मार्गमध्ये हालसम्म तीन खण्डमा २६ किलोमिटर क्षेत्रको निर्माण कार्य सम्पन्न हुने क्रममा छ। झ्यालबासदेखि चोरमारासम्मको नौ किलोमिटर सडक यसअघि नै निर्माण सम्पन्न भइसकेको छ।

यो सडक गण्डकी प्रदेशको महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको छ, जसले डेढगाउँमा कालिगण्डकी करिडोरलाई जोड्दछ। प्रदेश राजधानी पोखरासमेतलाई भिमाद र खैरेनिटार हुँदै जोड्ने यो मार्ग मुस्ताङको कोरला र नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको विकल्प हो।

तर, दुम्किबास–त्रिवेणी खण्डमा चितवन राष्ट्रिय निकुञ्जको कारणले काम अघि बढ्न नसकेको गुनासो छ। यद्यपि, गण्डकी प्रदेश सरकारले यसलाई प्राथमिकताका साथ अघि बढाइरहेको र सबै खण्डको निर्माण क्रमशः सम्पन्न गर्ने योजना बनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका