Saturday, November 7, 2026
Homeसामाचारडुम्रे नयाँ सहर आयोजनाले २० किलोमिटरभन्दा बढी सडक कालोपत्रे सम्पन्न

डुम्रे नयाँ सहर आयोजनाले २० किलोमिटरभन्दा बढी सडक कालोपत्रे सम्पन्न

तनहुँ — तनहुँको डुम्रे भन्सार क्षेत्रमा सञ्चालनमा रहेको नयाँ सहर आयोजना कार्यालयले स्थापनाकालदेखि हालसम्म २०.३ किलोमिटर सडक कालोपत्रे गरेको छ।

कार्यालय प्रमुख शान्ति शर्माका अनुसार, आयोजनाले हालसम्म ३४.७८ किलोमिटर सडक ग्राभेल, २.७४ किलोमिटर सडक ढलान र ४६.०२ किलोमिटर नाला निर्माणको काम सम्पन्न गरेको छ।

सरकारको आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा दश नयाँ सहर निर्माण गर्ने नीतिअन्तर्गत विसं २०७२/७३ बाट भानु र बन्दीपुरका साबिक वडाहरू समेटेर तनहुँमा यो आयोजना सुरु गरिएको हो।

आर्थिक वर्ष २०८०/८१ मा ०.७८ किलोमिटर सडक ग्राभेल, १.२४ किलोमिटर ढलान, १.६ किलोमिटर कालोपत्रे र ३.६२ किलोमिटर नाला निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ। सो आर्थिक वर्षमा एक सरकारी कार्यालय भवन, तीन सामुदायिक भवन, एक खेलमैदान, दुई मनोरञ्जन पार्क, एक खानेपानी योजना सम्पन्न गरिएको छ भने ४३४ वटा सौर्य बत्ती पनि जडान गरिएको छ।

डुम्रे भन्सार जग्गा एकीकरण आयोजना पनि अगाडि बढाइएको छ। यसका लागि ६४३ रोपनी जग्गा पहिचान भइसकेको र बाटोको किल्ला तोक्ने कार्य सकिएको कार्यालयले जानकारी दिएको छ।

गत आर्थिक वर्षमा चालुतर्फ विनियोजित एक करोड पाँच लाख रुपैयाँमध्ये ७५ लाख र पुँजीगततर्फ विनियोजित ११ करोड ७७ लाख रुपैयाँमध्ये चार करोड ७४ लाख खर्च भएको विवरणमा उल्लेख छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका