Saturday, November 7, 2026
Homeसामाचारडिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन समुदायले आज येशु ख्रीष्टको जन्मस्मृतिमा क्रिसमस डे श्रद्धा र उल्लासका साथ मनाइरहेका छन्। पछिल्ला वर्षहरूमा क्रिसमस धार्मिक पर्वमा सीमित नरही सामाजिक–सांस्कृतिक उत्सवका रूपमा पनि नेपालका प्रमुख सहरहरूमा व्यापक रूपमा मनाइँदै आएको छ।

क्रिसमसको अवसरमा राजधानी काठमाडौंसहित ठमेल, बौद्ध, पोखरा र सौराहाजस्ता पर्यटकीय क्षेत्रहरू झिलिमिली बत्ती, क्रिसमस ट्रि र आकर्षक सजावटले सजिएका छन्। होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायमा चहलपहल बढेको छ।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानव समुदायलाई प्रेम, शान्ति र मुक्ति दिएको विश्वासका आधारमा क्रिसमसलाई ती मूल्यहरूको उत्सवका रूपमा मनाइन्छ। महासङ्घले विसं २०६३ पछि क्रिसमसलाई संगठित रूपमा महोत्सवको स्वरूप दिएको हो।

आज महासङ्घ मूल समारोह समितिको आयोजनामा ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिएको छ। महोत्सवमा सरकारका प्रतिनिधि, सरोकारवाला निकाय, मानव अधिकारकर्मी तथा विभिन्न समुदायका व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ।

क्रिसमस डेका अवसरमा सार्वजनिक बिदाको व्यवस्था समयक्रमसँगै परिवर्तन हुँदै आएको छ। विसं २०६३ देखि २०७४ सम्म सबैका लागि सार्वजनिक बिदा दिइएकोमा केही वर्ष क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो। विसं २०७८ देखि भने पुनः सबैका लागि सार्वजनिक बिदा दिँदै आएको छ।

महासङ्घका अनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च सञ्चालनमा छन्। बढ्दो सहभागिता र सार्वजनिक चासोसँगै क्रिसमस नेपालमा बहुसांस्कृतिक उत्सवका रूपमा स्थापित हुँदै गएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका