Saturday, November 7, 2026
Homeसामाचारडिभी प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ

डिभी प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र प्रयोग गर्ने सात जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको हो ।

तनहुँको म्याग्दे गाउँपालिका–७ घर भएका १९ वर्षीय किरण सिंह ठकुरीले डिभी प्रयोजनका लागि काठमाडौँस्थित अमेरिकी दूतावासमा कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । उक्त प्रमाणपत्र प्रमाणीकरणका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीमा पठाउँदा नक्कली भएको पुष्टि भएको थियो । बोर्डबाट प्रमाणपत्र नक्कली भएको जानकारी आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

अनुसन्धानका क्रममा प्रहरीले नक्कली प्रमाणपत्र प्रयोग गर्ने ठकुरीसहित प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले माघ १५ र १६ गते यस धन्दामा संलग्न सात जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा मुख्य आरोपी किरण सिंह ठकुरीसँगै पर्वत फलेवासका ४० वर्षीय अनिल शर्मा, काठमाडौँ तारकेश्वरका ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोट ककनीका ४२ वर्षीय केशव फुयाँल, नुवाकोट तादीका ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौँ महानगरपालिका–२ की ४३ वर्षीया दीपा लावती र गुल्मीका ५२ वर्षीय शोभाखर खनाल रहेका छन् ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका सबैलाई लिखतसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आइतबार जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । प्रहरीले यस गिरोहसँग जोडिएका अन्य सदस्य तथा सञ्जालबारे पनि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका