काठमाडौँ, २६ वैशाख — सानो ‘झिल्को’ ले जङ्गल दन्काइदिन सक्छ, ठीक त्यसै गरी डिजिटल कुलतको सानो लतले व्यक्ति, परिवार र समाजमा गहिरो असर पार्न सक्छ। यही यथार्थमा आधारित छ नयाँ नेपाली चलचित्र ‘झिल्को’, जसले मोबाइल र इन्टरनेटको दुरुपयोगले बालबालिकाको जीवनमा पार्ने असरलाई मार्मिक ढङ्गले प्रस्तुत गर्छ।
मोबाइल फोन अब केवल सम्पर्कको साधन रहेन, यो हाम्रो जीवनशैली नै निर्देशित गर्ने यन्त्र बनिसकेको छ। दुःखको कुरा, यसमा सबैभन्दा बढी फसिरहेका छन्—हाम्रा बालबालिका। निर्देशक यादव भट्टराईले यही समस्यालाई गहिरो दृष्टिकोणबाट उठाउँदै ‘झिल्को’ तयार पार्नुभएको छ।
आजभोलि खाना खानुभन्दा पहिला मोबाइल चलाउने, युट्युब हेर्ने र गेम खेल्ने बानी सामान्य भइसकेको छ। ‘झिल्को’ मा यी सबै अभ्यासले बालबालिका, अभिभावक र पारिवारिक सम्बन्धमा पार्ने नकारात्मक असरलाई कलात्मक ढंगले चित्रण गरिएको छ।
चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी र सुनिल पोखरेलको सशक्त अभिनयले कथालाई जीवन्त बनाएको छ। विशेषगरी अभिनेता सुनिल पोखरेलले चलचित्रबाट आफूले गहिरो सिकाइ पाएको अनुभव साट्नुभयो।
“चलचित्र खेलेपछि मलाई लाग्यो कि म आफैँ पनि डिजिटल कुलतबाट केही हदसम्म बाहिरिएको छु,” उहाँले भन्नुभयो, “बच्चाहरूलाई बचाउन हामी अभिभावक आफैँ सचेत बन्नुपर्छ। सुरूआत घरबाट, आफैँबाट हुनुपर्छ।”
उहाँले अब आफ्नै घरमा राति ११ बजेपछि वाइफाइ बन्द गर्ने नियम बनाएको बताउनुभयो। सुरुमा बच्चालाई मनाउन गाह्रो भए पनि विस्तारै परिवर्तन देखिन थालेको उहाँको अनुभव छ।
‘झिल्को’ मा एक पत्रकार परिवारको कथा छ—श्रीमती र छोरीसहितको खुसी जीवन। तर एक सानो डिजिटल लतले त्यो परिवारमा कसरी संकट ल्याउँछ भन्ने कुरालाई चलचित्रले संवेदनशील ढंगले देखाएको छ। चलचित्रको उद्देश्य स्पष्ट छ—भर्चुअल दुनियाँबाट बाहिर ल्याएर बालबालिकालाई वास्तविक जीवनमा रमाउन सिकाउने।
कोभिड-१९ को बन्दाबन्दीपछि मोबाइल र इन्टरनेटको पहुँच तीव्र रूपमा बढेको छ। अनलाइन पढाइसँगै मनोरञ्जनको नाममा मोबाइल चलाउने बानी झन् बढ्यो। तर, यही बानीलाई सीमित नगर्दा आजका बालबालिकाको भविष्य जोखिममा पर्दै गएको छ—‘झिल्को’ ले यही सन्देश दिन खोजेको छ।
निर्देशक यादव भट्टराई यसअघि ‘झोला’ र ‘भोर’ जस्ता सामाजिक यथार्थमा आधारित चलचित्रमार्फत चर्चामा आइसकेका छन्। ‘झोला’ ले सती प्रथाको विरोधमा आवाज उठायो भने ‘भोर’ ले मधेसको सामाजिक यथार्थ उजागर गर्यो। अब ‘झिल्को’ ले आधुनिक युगको अदृश्य कुलत—डिजिटल लतविरुद्ध चेतना फैलाउने प्रयास गरेको छ।
“हामीले सजिलो जीवन खोज्दै डिजिटल दुनियाँमा हराइरहेका छौँ,” निर्देशक भट्टराईले भन्नुभयो, “चलचित्रकर्मीको जिम्मेवारी केवल मनोरञ्जन होइन, समाजलाई सही दिशामा लैजान सन्देश दिनु पनि हो।”
चलचित्र हेरेका दर्शकले यसले अभिभावक, शिक्षक र विद्यालयका प्रमुखहरू सबैले हेर्नैपर्ने विषय उठाएको प्रतिक्रिया दिएका छन्। कतिपय अभिभावक सपरिवार चलचित्र हेर्न बालबालिका लिएर हलसम्म पुगेका छन्। यसको अर्थ चलचित्रले लक्षित उद्देश्य भेट्न थालेको छ।
चलचित्रको कथा लेखकमा भट्टराईसँगै अरूणदेव जोशी र देव व्रत छन्। मिडिया फर कल्चर प्रा.लि. को निर्माणमा बनेको यो चलचित्र वैशाख १९ गतेदेखि देशभर प्रदर्शन भइरहेको छ।
‘झिल्को’ हेरेपछि तपाईंलाई पनि लाग्न सक्छ—कहीं तपाईंको घरमा पनि डिजिटल कुलतको सानो झिल्को सल्किरहेको त छैन? समयमै सचेत हुन र कदम चाल्न प्रेरित गर्ने चलचित्र हो—‘झिल्को’।