काठमाडौं । संसदीय सुनुवाइ समिति ले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा को नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
मंगलबार सिंहदरबार मा बसेको समितिको बैठकले लामो छलफल, उजुरीकर्तासँगको संवाद तथा डा. शर्माको कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो।
गत वैशाख २४ गते संवैधानिक परिषद् ले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. शर्मालाई ३३औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको थियो। उनीविरुद्ध समितिमा १६ वटा उजुरी परेका थिए, जसमध्ये ११ वटा इमेलमार्फत र पाँच वटा लिखित रूपमा दर्ता भएका थिए।
समितिले मंगलबार बिहानदेखि ती उजुरीमाथि छलफल गर्दै उजुरीकर्तासँग प्रत्यक्ष संवाद गरेको थियो। सुनुवाइका क्रममा डा. शर्माले आफ्नो ‘न्यायिक सुधार योजना’ प्रस्तुत गर्दै सूचना प्रविधिमैत्री अदालतको अवधारणा कार्यान्वयन गर्ने, बक्यौता मुद्दा १८ महिनाभित्र फर्छ्योट गर्ने, न्यायाधीश नियुक्ति प्रक्रिया पारदर्शी बनाउने तथा न्यायपालिकामा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै अब डा. शर्मालाई राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्त गर्ने बाटो खुलेको छ। सत्तापक्षले आजै शपथ तथा पदबहाली गराउने तयारी तीव्र पारेको जनाइएको छ।


