Sunday, July 26, 2026
Homeराजनीतिडा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारी वार्ता टोली धनगढीमा

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारी वार्ता टोली धनगढीमा

धनगढी । २४औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालको संयोजकत्वमा गठित सरकारी वार्ता टोली धनगढी पुगेको छ। टोलीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव सदस्य रहेका छन्।

सरकारी टोलीले शनिबार डा. केसीसँग सामान्य भेटघाट गरे पनि औपचारिक वार्ता भने आज (आइतबार) हुने तय भएको छ।

डा. केसीका स्वास्थ्य सहयोगी डा. अमृत जैसीका अनुसार शनिबारको भेट परिचयात्मक मात्रै थियो। केसीका मागहरू सरकारसमक्ष स्पष्ट रूपमा प्रस्तुत भइसकेकाले अब वार्तामा सरकारले ती मागप्रति कस्तो धारणा र प्रतिबद्धता देखाउँछ भन्ने कुरा निर्णायक हुने उनले बताए।

‘डा. केसीले उठाउनुभएका विषयमा सरकार कति गम्भीरतापूर्वक प्रस्तुत हुन्छ भन्ने नै वार्ताको मुख्य विषय हो,’ जैसीले भने, ‘उहाँ आफ्ना मागबाट पछि हट्ने अवस्थामा हुनुहुन्न।’

डा. केसी बिहीबारदेखि ७ बुँदे माग राख्दै धनगढीमा सत्याग्रहमा बसेका छन्। उनका प्रमुख मागमध्ये सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त उपकुलपति र रजिस्ट्रारलाई हटाई नयाँ नियुक्ति गर्नुपर्ने रहेको छ।

त्यस्तै, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक मापदण्ड र पूर्वाधारबिनै निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्ताव तत्काल खारेज गर्नुपर्ने माग पनि उनले अघि सारेका छन्। साथै, चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउन कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको अर्को माग छ।

डा. केसीले विगतमा सरकारसँग भएका लिखित सहमतिहरू कार्यान्वयन, सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य अधिकारको सुनिश्चितता, तथा भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड र हिंसाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेका छन्।

यसका साथै, विकट तथा दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच कमजोर बनाउने कुनै पनि प्रयास रोक्न सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका