Saturday, November 7, 2026
Homeसामाचारट्राफिक सप्ताहको चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित

ट्राफिक सप्ताहको चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित

काठमाडौँ । ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत चौथो दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा व्यापक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा ‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित माघ २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा ट्राफिक नियम पालन, सुरक्षित यात्रा र सडक अनुशासनबारे जनचेतना फैलाउने विविध कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ।

अभियानको चौथो दिन ६ हजार ५ सय २१ जना यात्रु तथा पैदलयात्रीलाई जेब्राक्रसिङ प्रयोग गरी सुरक्षित रूपमा सडक पार गर्ने तरिका सिकाइएको छ। साथै, ६ सय जना सवारी चालकको एकदिने आँखा स्वास्थ्य परीक्षण गरिएको छ। स्कुल तथा कलेजका ९ सय ५१ जना विद्यार्थीलाई ट्राफिक सचेतना प्रदान गरिएको छ भने ३ सय ९३ जना ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ।

त्यसैगरी, २ हजार २ सय १७ जनालाई रात्रीकालीन विशेष सचेतना, २ हजार ३ सय ९७ जना चालक तथा परिचालकसँग ‘२ मिनेट कार्यक्रम’, तथा ५ हजार २ सय ५ जना दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी चालकलाई ट्राफिक नियमसम्बन्धी जानकारी दिइएको छ।

लेन नियम उल्लंघन, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक लाइट उल्लंघन तथा तीव्र गतिमा सवारी चलाउने २ सय ३६ जनालाई सचेतनामूलक कक्षामा सहभागी गराइएको छ। साथै, ६ सय १५ जनालाई आरक्षण सिट तथा यात्रु–मैत्री व्यवहार, १ सय जनालाई नागरिक सुनुवाइ, र १ हजार ४ सय ३० जनालाई प्रभातफेरीमार्फत सचेतना दिइएको छ।

यसैबीच, ५ सय १६ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको शुभकामना, ३ सय ५७ जनालाई कानुनी कारबाहीसम्बन्धी जानकारी, १ हजार १ सय ७० जना सवारी चालक अनुमति पत्रको लिखित परीक्षा दिने परीक्षार्थीलाई सचेतना तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ६५ जना नेपाली सेनाका कर्मचारीलाई विशेष प्रशिक्षण प्रदान गरिएको छ।

चौथो दिनको विशेष अभियानबाट जम्मा २३ हजार ६ सय २४ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन्। साथै, ५ हजार २ सय ४८ जनालाई पर्चा–पम्प्लेट वितरण गरिएको छ भने ट्राफिक नियम, हेल्मेट, सिटबेल्ट, लेन अनुशासन र सुरक्षित सवारीसम्बन्धी २ हजार ५ सय ९५ वटा स्टिकर टाँस गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडकमा हुने सानो लापरबाहीले पनि ठूलो दुर्घटनाको रूप लिन सक्ने भएकाले सुरक्षित सडक संस्कारको विकास र सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह आयोजना गरिएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका