काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष महेशकुमार श्रेष्ठसँग जोडेर केही सञ्चारमाध्यममा प्रकाशित भएको समाचारप्रति आपत्ति जनाएको छ। संघले भनेको छ कि नेपाल सरकारसँग सहकार्य गर्दै सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा जुट्न लागेको बेला भ्रम फैलाउने प्रयास दुःखद छ।
एनआरएनए प्रवक्ता गंगाधर गौतमले बुधबार जारी विज्ञप्तिमा जेनजी आन्दोलनका क्रममा भदौ २३–२४ गते सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको स्मरण गर्दै त्यसको पुनर्निर्माणमा संघ तयार रहेको जानकारी दिएका छन्। संघले विशेष गरी सडक सुरक्षा मजबुत बनाउन ट्राफिक प्रहरीलाई सहयोग गर्दै आएको र सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि उल्लेख गरेको छ।
तर केही सञ्चारमाध्यमले एनआरएनएको नाममा व्यक्तिगत प्रयोजनका लागि रकम उठाइएको भन्ने समाचार प्रकाशित गरेकोप्रति संघले कडा आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत प्रयोजनका लागि रकम संकलन गरिएको भन्ने समाचार पूर्णतया निराधार र भ्रामक हो। यसले संस्थाको साखमा प्रश्न उठाउने प्रयास मात्र हो।” संघले यसलाई केही व्यक्तिहरूको बदनाम गर्ने अभियानको रूपमा लिएको छ।
अध्यक्ष श्रेष्ठले शनिबार बस्ने कार्यसमिति बैठकले औपचारिक निर्णय गर्दै ‘ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनर्निर्माण’ परियोजना अघि बढाउने जानकारी दिएका छन्। विस्तृत प्राविधिक खाका तयार भइसकेको र करिब ७४ लाख रुपैयाँ लागत अनुमान गरिएको उनले बताए।
श्रेष्ठका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा रहेको ट्राफिक प्रहरी कार्यालयको सिसिटिभी नियन्त्रण कक्ष, निगरानी प्रणाली र आवश्यक उपकरणहरूको पुनर्संचालनमा सहयोग पुर्याइनेछ। अध्यक्ष श्रेष्ठले भने, “सडक सुरक्षा र निगरानी प्रणाली मजबुत हुनु देशको शान्ति–सुरक्षासँग प्रत्यक्ष सम्बन्धित छ। यसमा योगदान दिनु मातृभूमिप्रति हाम्रो दायित्व हो।”
संघले मंगलबार ‘नेपाल पुनर्निर्माण अभियान’ घोषणा गर्दै विश्वभरका नेपालीहरूलाई सहयोगका लागि आह्वान गरिसकेको छ। विगतमा भूकम्प, बाढी–पहिरो र महामारीका बेला पनि एनआरएनएले निरन्तर साथ दिएको स्मरण गर्दै यस पटक पनि मातृभूमि उकास्न सबै एकजुट हुनुपर्ने श्रेष्ठले बताएका छन्।
श्रेष्ठले अफवाहमा विश्वास नगर्न आग्रह गर्दै भने, “हाम्रो योगदान विशुद्ध सार्वजनिक हितका लागि हो, यसलाई व्यक्तिगत फाइदासँग जोडेर प्रचार गर्नु दुर्भाग्यपूर्ण छ।” शनिबारको कार्यसमिति बैठकपछि ठोस कार्ययोजना सार्वजनिक गरिने तयारी संघले जनाएको छ।



