Tuesday, June 2, 2026
Homeअन्तराष्ट्रियट्रम्पको दोस्रो कार्यकालमाथि बढ्दो विवाद र अस्थिरताको बहस

ट्रम्पको दोस्रो कार्यकालमाथि बढ्दो विवाद र अस्थिरताको बहस

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल राजनीतिक स्थिरताभन्दा विवाद र अस्थिरतासँग जोडिन थालेको विश्लेषण भइरहेका छन्। विश्लेषकहरूका अनुसार ट्रम्पको पछिल्लो कार्यशैली आवेगपूर्ण र व्यक्तिगत प्रतिक्रियामा आधारित देखिन थालेको छ, जसले अमेरिकी राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा चिन्ता थपेको छ।

दोस्रो कार्यकालको सुरुवाती महिनामा ट्रम्पले कार्यकारी आदेशमार्फत संघीय निकाय, विदेश नीति तथा सरकारी संरचनामा परिवर्तन गर्ने प्रयास गरेका थिए। यूएसएडको बजेट कटौती, संघीय कर्मचारी संख्यामा कमी तथा केही विश्वविद्यालयका पाठ्यक्रममा हस्तक्षेपजस्ता निर्णय विवादास्पद भए पनि निश्चित नीति ढाँचामा आधारित देखिएका थिए। तर पछिल्ला दिनमा उनको शैली थप आक्रामक र व्यक्तिगत प्रतिशोध केन्द्रित भएको विश्लेषकहरूको भनाइ छ।

हालै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेललाई अपमानजनक रूपमा चित्रण गरिएको भिडियो पुनःपोस्ट गरेका थिए। व्यापक आलोचनापछि उक्त पोस्ट हटाइएको भए पनि ट्रम्पले माफी माग्न अस्वीकार गरेका छन्। रिपब्लिकन पार्टीका केही नेतासहित डेमोक्रेटिक नेताहरूले उक्त घटनाको निन्दा गरेका छन्।

ट्रम्पले २०२० को राष्ट्रपति चुनावमा धाँधली भएको दाबी अझै दोहोर्याउँदै आएका छन्। उनले चुनावी प्रणालीलाई संघीय नियन्त्रणमा ल्याउने संकेत गरेपछि आलोचकहरूले यसलाई लोकतान्त्रिक प्रणालीमाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्।

आप्रवासन नीतिमा पनि ट्रम्पको कडा कदम विवादमा परेको छ। मिनेसोटामा संघीय कारबाहीका क्रममा दुई अमेरिकी नागरिकमाथि गोली प्रहार भएपछि सार्वजनिक आलोचना बढेको थियो। त्यसपछि प्रशासनले केही आईसीई एजेन्ट फिर्ता बोलाएको छ।

अर्थतन्त्रको विषयमा ट्रम्पले महँगी घटेको दाबी गरे पनि सर्वेक्षणहरूमा आम नागरिकको जीवनस्तरमा उल्लेखनीय सुधार नभएको देखिएको छ। हालै सार्वजनिक सर्वेक्षणअनुसार ट्रम्पको नीति प्राथमिकतालाई समर्थन गर्ने अमेरिकीहरूको संख्या ३६ प्रतिशतमा झरेको छ।

अन्तर्राष्ट्रिय स्तरमा ग्रीनल्यान्ड सम्बन्धी विवादले पनि ट्रम्पको विदेश नीतिमाथि प्रश्न उठाएको छ। डेनमार्कसँग ग्रीनल्यान्ड हस्तान्तरणको प्रस्तावपछि नाटो सदस्य राष्ट्रहरूमा तनाव सिर्जना भएको थियो। युरोपेली देशहरू र आफ्नै दलभित्रको विरोधपछि ट्रम्प उक्त प्रस्तावबाट पछि हटेका थिए।

विश्लेषकहरूका अनुसार ट्रम्पको दोस्रो कार्यकाल नीति र रणनीतिभन्दा व्यक्तित्व र प्रतिक्रियामा आधारित देखिएको छ। आगामी मध्यावधि निर्वाचनले ट्रम्पको राजनीतिक भविष्य र अमेरिकी लोकतन्त्रको दिशाबारे महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका