काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ सुरु भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्ध ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।
अख्तियारका अनुसार मन्त्रिपरिषद्बाट मात्र हुनुपर्ने निर्णय पूर्वमन्त्री बस्नेतले एकल रूपमा गर्दै टेरामक्स खरिद प्रक्रिया अघि बढाएको आरोप छ। बस्नेत हाल थुनामुक्त छन्। असार १५ गतेको सुनुवाइमा विशेष अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
यस मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल, तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती पनि आरोपी छन्। साथै परामर्शदाता विदेशी कम्पनी भ्यानराइज सोलुसन सल र यसको नेपाली एजेन्ट कलेक्सन ट्रेड लिंक प्रालिलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।
अख्तियारको दाबीअनुसार भ्यानराइजका सीईओ जमाल अनौटी, कलेक्सन ट्रेड लिंक प्रालिका अध्यक्ष दिलिपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलको मिलेमतोमा टेरामक्स खरिदमा भ्रष्टाचार भएको हो। प्रतिवादीहरुविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी गरिएको छ।


