Wednesday, August 19, 2026
Homeसामाचारझुटो विवरण पेश गरी स्थायी शिक्षक बनेको आरोपमा शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

झुटो विवरण पेश गरी स्थायी शिक्षक बनेको आरोपमा शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसी र तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

झुटो विवरण पेश गरी स्थायी शिक्षक नियुक्ति लिएको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार शिक्षक केसीले आफूलाई विस्थापित शिक्षक दाबी गर्दै झुटो विवरण पेश गरी माध्यमिक तहमा स्थायी नियुक्ति लिएका थिए। वि.सं. २०६३ मा शिक्षक सेवा आयोगले अस्थायी विस्थापित शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन दिने निर्णय गरेपछि केसीले आफू विस्थापित शिक्षक भएको झुटो विवरण पेश गरेको अनुसन्धानबाट खुलेको छ।

केसीले यसअघि माध्यमिक विद्यालयको अस्थायी पदबाट राजीनामा दिएर प्राथमिक तहमा नियुक्ति लिएका थिए। तर, आफू माध्यमिक तहको विस्थापित शिक्षक भएको दाबी गर्दै आन्तरिक परीक्षामा सहभागी भएर स्थायी नियुक्ति लिएको अख्तियारले जनाएको छ।

शिक्षक सेवा आयोगले २०६१ मंसिर १५ गते अस्थायी शिक्षकका लागि विज्ञापन खुलाउँदा केसीसँग आवश्यक न्यूनतम योग्यता समेत नभएको अख्तियारको दाबी छ। उनले त्यसअघि नै २०६१ असार २ गते स्थायी प्राथमिक शिक्षकको नियुक्ति लिइसकेका थिए।

अनुसन्धानका क्रममा केसीले आफू विस्थापित शिक्षक नभएको तथा स्थायी शिक्षकको पदबाट राजीनामा दिएर गएको स्वीकार गरेको अख्तियारले जनाएको छ।

यसैगरी, तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। शिक्षक सेवा आयोगको दरखास्त फाराममा केसीले पेश गरेको झुटो विवरण न्यौपानेले प्रमाणित गरिदिएको आरोप छ। न्यौपानेले विवरण स्वीकृत गरेपछि केसीलाई परीक्षामा सहभागी हुने अवसर प्राप्त भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

झुटो विवरण पेश गरी सरकारी नियुक्ति लिएको आरोपमा अख्तियारले शिक्षक केसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ। न्यौपानेलाई भने सोही ऐनको दफा २२ बमोजिम मतियारका रूपमा सजाय हुनुपर्ने माग गरिएको छ।

मुख्य कसुरदारलाई कसुर गर्न सहयोग गरी गैरकानुनी लाभ पुर्‍याएको अभियोग न्यौपानेमाथि लगाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका