Sunday, November 8, 2026
Homeसामाचारजैमिनी बाढीः तीन सय रोपनी खेत बन्यो बगर

जैमिनी बाढीः तीन सय रोपनी खेत बन्यो बगर

गलकोट (बागलुङ), २९ असार । जैमिनी नगरपालिका–४ निवासी डम्मरबहादुर सार्कीको जैमिनी–१० सहेला फाँटमा रहेको नौ रोपनी धानखेतीमा कालुङखोलाको बाढी पस्दा पूरै बगरमा परिणत भएको छ। भर्खरै रोपिएको धानसहितको खेत बाढीले सखाप बनाउँदा सार्की चिन्तित छन्।

असार २४ गते राति आएको भीषण बाढीले कालुङखोलाको पानी खेतमा पस्दा सबै धान बगाएको र खेत बगरमा परिणत भएको सार्कीले बताए।

कालुङखोला र ठेउलेखोला आसपासका क्षेत्र—जसमा जैमिनी नगरपालिका–१०, ९ र ४ का भर्खरै रोपिएका धानखेत रहेका छन्—बाढीबाट गम्भीर रूपमा प्रभावित भएका छन्। जैमिनी नगरपालिकाका अनुसार सबैभन्दा ठूलो क्षति वडा नं ९ पैयुथन्थाप क्षेत्रमा भएको हो।

नगरपालिकाको कृषि शाखा प्रमुख सुवास सापकोटाका अनुसार पैयुथन्थापमा मात्रै १५० रोपनी धानखेत बगरमा परिणत भएको छ। उहाँले बताएअनुसार कृषि प्राविधिक, इञ्जिनियर र जनप्रतिनिधिको टोलीले क्षतिको तथ्याङ्क सङ्कलन गरिरहेको छ।

हालसम्म संकलित विवरणअनुसार नगरपालिकाभर करिब ३०० रोपनी धानखेती बाढीबाट प्रभावित भएको अनुमान गरिएको छ। तीमध्ये १५० रोपनी खेतको क्षति पुष्टि भइसकेको छ भने ५० रोपनीभन्दा बढी खेत यस्तो अवस्थामा छ, जुन अब पुनः खेतीयोग्य बनाउने सम्भावना छैन।

अविरल वर्षाका कारण असार २४ गते मंगलबार राति आएको बाढीले जैमिनी नगरपालिकाको कालुङखोला र ठेउलेखोला आसपासको क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको हो। प्रारम्भिक अनुमान अनुसार बाढीले रु १ अर्बभन्दा बढीको क्षति पुर्‍याएको छ।

कालुङखोलाको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्‍याएको छ। एक वटा जलविद्युत् गृह पूर्ण रूपमा बगाएको, करिब ३०० रोपनी खेत नष्ट पारेको र नौवटा सिँचाइ कुलोमा क्षति पुर्‍याएको जानकारी नगरपालिकाले दिएको छ।

जलविद्युत् आयोजनामा क्षति पुगेपछि जैमिनी–९ पैयुथन्थापका १२२ परिवार विद्युत् आपूर्ति नहुँदा अन्धकारमा बस्न बाध्य छन्।

नगरप्रमुख नरबहादुर पुनका अनुसार, हाल नगरपालिकाले क्षतिको विस्तृत विवरण सङ्कलन गरिरहेको छ र मूल्याङ्कनका आधारमा राहत प्रदान गर्ने तयारी गरिएको छ।

“तत्कालका लागि किसानलाई धान रोप्न लाग्ने लागतको राहत दिनेछौँ,” नगरप्रमुख पुनले भन्नुभयो, “राष्ट्रिय क्षमताले सबै क्षति पूर्ति गर्न सक्दैनौँ तर धान उत्पादनमा हुने गिरावटलाई ध्यानमा राख्दै राहत दिने तयारी छ। साथै, क्षतिग्रस्त सिँचाइ कुलोको मर्मतमा नगरपालिकाको विशेष ध्यान हुनेछ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका