काठमाडौं। विभिन्न जेन–जी समूह र व्यक्तिहरू संलग्न जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको तत्काल स्वेच्छिक राजीनामा माग गरेको छ।
अलायन्सले आज एक विज्ञप्ति जारी गर्दै आयोगका प्रमुखसहित अन्य आयुक्तहरूको नियुक्ति प्रक्रिया पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारद्वारा संसदीय सुनुवाइ बिनै निरंकुश ढंगले सम्पन्न गरिएको भन्दै उनीहरूको स्वेच्छिक राजीनामा माग गरेको हो।
२०७९ साल भदौ २३ गतेबाट सुरु भएको जेन–जी आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र दण्डहीनताको अन्त्य रहेको उल्लेख गर्दै, ती मागहरू पूरा गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम नेतृत्व आवश्यक रहेको अलायन्सको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, विशेष अदालतको फैसला पूर्णपाठमा समेत प्रमुख आयुक्तको स्वार्थद्वन्द्व र आयोगको अभियोजन प्रणालीमाथि प्रश्न उठाइएको हुँदा, चयनात्मक अभियोजन गरेको आरोपले आयोगको निष्पक्षता नै प्रश्नमा परेको छ।
हाल आयोगका प्रमुखसहित अन्य आयुक्तहरूलाई पदबाट हटाउन महाभियोगको प्रक्रिया आवश्यक भए पनि संघीय संसद नहुँदा सो सम्भव नभएको उल्लेख गर्दै, आयोगका सम्पूर्ण आयुक्तहरूको स्वेच्छिक राजीनामा मार्फत पद रिक्त गर्नु अपरिहार्य भएको अलायन्सले जनाएको छ।
त्यससँगै, अलायन्सले अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रिया मार्फत योग्य तथा सक्षम नागरिकले आवेदन दिन सक्ने गरी निष्पक्ष नियुक्ति समिति गठन गर्न र त्यसको माध्यमबाट रिक्त भएका आयोगका पदहरूमा नयाँ आयुक्तहरूको नियुक्ति गर्न पनि आग्रह गरेको छ।


