काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत वर्ष भदौ २३ र २४ गते भएको युवा (जेन्जी) आन्दोलनको मर्मलाई स्मरण गर्दै कुशासनविरुद्धको नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न आह्वान गरेका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले घाइतेहरूको पूर्ण उपचार तथा पुनर्स्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्नेमा जोड दिएका छन्।
उनले उक्त आन्दोलनलाई नेपाली इतिहासमा नयाँ जागरणको विस्फोटका रूपमा चित्रण गर्दै वर्षौंदेखि मौलाउँदै आएको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता तथा मौलिक अधिकारमाथिको नियन्त्रणविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको बताएका छन्।
परिवर्तनको माग राख्दा युवा पुस्ताले रगत बगाउनुपरेको घटना अत्यन्त पीडादायी भएको उल्लेख गर्दै लामिछानेले अब परिवर्तनका लागि कसैले पनि ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्। आन्दोलनका क्रममा कर्तव्य पालन गर्दा ज्यान गुमाएका सुरक्षाकर्मीहरूप्रति पनि उनले श्रद्धाञ्जली अर्पण गरेका छन्।
राजनीतिमा चासो नराख्ने भनिएको युवा पुस्ताको सडक उपस्थिति परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट अस्वीकृति भएको उनको भनाइ छ। डिजिटल युगमा हुर्किएको, स्वाभिमानी र देशभित्रै आफ्नो भविष्य खोजिरहेको यो पुस्ताले अब कुशासन स्वीकार नगर्ने सन्देश आन्दोलनले दिएको उनले बताएका छन्।
लामिछानेले आन्दोलन कुनै दलविशेषको आह्वानमा नभई स्वस्फूर्त रूपमा भएको जागरण भएकाले त्यसलाई कुनै राजनीतिक दल वा नेताले आफ्नो संकीर्ण राजनीतिक लाभका लागि प्रयोग गर्न नहुने बताएका छन्।
‘हिजो सडकबाट नवयुवाहरूले उठाएका प्रश्नको जवाफ दिने ठाउँमा आज हामी पुगेका छौँ,’ उनले भनेका छन्। नागरिकको रचनात्मक खबरदारी र निर्मम समीक्षा निरन्तर आवश्यक रहेको उनको भनाइ छ।
निराशाको भाष्य स्थापित हुन नदिन सबैलाई एकताबद्ध हुन आह्वान गर्दै लामिछानेले आन्दोलनले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।


