काठमाडौँ, ३० कात्तिक । सरकारले गत भदौ २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा देशभर भएको क्षतिको विस्तृत विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै गाउँपालिका र नगरपालिका समक्ष पत्राचार गर्दै क्षतिको विवरण अनिवार्य रूपमा अनलाइन पोर्टलमा प्रविष्ट गर्न निर्देशन दिएको हो।
मन्त्रालयले कात्तिक २७ गते जारी गरेको पत्रमा आन्दोलनका कारण सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानमा परेको क्षतिको विवरण पुनःनिर्माण तथा मूल्याङ्कनका लागि अत्यावश्यक भएकाले तोकिएको पोर्टलमा छिटो अपलोड गर्न आग्रह गरिएको उल्लेख छ।
यसअघि, मन्त्रिपरिषद्को गत असोज ५ गतेको बैठकले क्षतिको मूल्याङ्कन तथा पुनःनिर्माण योजना तयार गर्ने गरी पाँच सदस्यीय समिति गठन गरेको थियो। तथ्याङ्क सङ्कलनलाई एकरूप र सहज बनाउन सो समितिले अनलाइन पोर्टलसमेत तयार पारेको छ।
मन्त्रालयले स्थानीय तहहरूलाई क्षतिको विवरण प्रविष्ट गर्दा छुटिएका जानकारी पनि तोकिएको पोर्टलमार्फत तुरुन्तै अपलोड गर्न अनुरोध गरेको छ।


