Wednesday, June 3, 2026
Homeराजनीतिजीतपुरसिमरा प्रमुखको लागि एमालेबाट १० जनाको नाम सिफारिस

जीतपुरसिमरा प्रमुखको लागि एमालेबाट १० जनाको नाम सिफारिस

जीतपुर सिमरा उपमहानगरको प्रमुखका लागि सहमति जुटाउन नसकेपछि १० जना आकाङ्क्षीहरूको नाम जिल्ला कार्यसमिति मार्फत केन्द्रमा पठाइएको नेकपा एमालेको नगर कमिटीले जनाएको छ । नगरप्रमुखका लागि हालकी उपप्रमुख सरस्वतीदेवी चौधरी,मनोज पौडेल, कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिलकुमार मैनाली, महादेव चौधरी, प्रह्लाद साह,राधेश्याम शिवाकोटी, विश्वनाथ लामिछानेको नाम सिफारिस भएको छ ।

त्यस्तै जीतपुर सिमराको उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरिएको नगर कमिटी अध्यक्ष भोला अधिकारीले जनाएका छन् । उपप्रमुखमा भोला अधिकारी, रेनु रिमाल, अशोक लामा, कमला घिमिरे र सरिता चौधरीको नाम सिफारिस भएको छ । नगर कमिटीले एमाले जिल्ला अध्यक्ष विनोद साह मार्फत जिल्ला कार्य समितिलाई सिफारिस पठाएको हो । केन्द्रले उम्मेदवारको नाम सकेसम्म स्थानीय तहबाटै सहमति जुटाएर पठाउन निर्देशन दिए पनि दाबेदारहरू पछि हट्न तयार नभएपछि १० जना प्रमुख तथा ५ जना उपप्रमुखको नाम सिफारिस गरेर जिल्ला कार्यसमिति मार्फत केन्द्र पठाइसकेको अधिकारीले जनाए ।

वडाध्यक्षहरूको हकमा भने छलफलको माध्यमबाट वडा कमिटीबाटै सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेर विवादरहित ढङ्गले काम भइरहेको जनाए । जीतपुर सिमराको २४ ओटा वडा मध्ये ८ वटा वडाको सोमबार साँझसम्म सहमतिमा नामावली टुंगिसकेको र बाँकी वडामा पनि मंगलबारसम्म टुङ्गो लागिसक्ने जनाइएको छ । ‘सहमति हुन नसकेको वडामा २ जना पुरुष र १ जना महिलाको नाम सिफारिस गरेर पठाएका छौँ,’ नगर कमिटी अध्यक्ष अधिकारीले भने ।

एमालेले बाराको १६ स्थानीय तहका १ सय ६५ वडाध्यक्ष मध्ये ६० जनाको नामावली अन्तिम टुङ्गो लगाएको छ । दुई वा सो भन्दा धेरै वडाध्यक्षका दाबेदार भएको ठाउँमा पनि छलफलको माध्यमबाट १ वडाध्यक्ष सहित ५ जना वडा पदाधिकारीहरूको टुङ्गो लगाएको हो । पूर्व खेलकुद मन्त्री तथा एमालेका केन्द्रीय सदस्य पुरुषोत्तम पौडेलले बाराको १६ ओटा पालिकामध्ये प्राय: सबै पालिकाको उम्मेदवार छनोट प्रक्रिया सकिएको बताएका छन् । ‘हाम्रो पार्टीको निर्देशित विधि अनुसार उपमहानगरको मेयर/उपमेयर केन्द्रले निर्णय गर्छ,हामीले सिफारिस गर्ने हो, त्यो सिफारिस प्रक्रिया पुरा भइसकेको छ’ केन्द्रीय सदस्य पौडेलले भने ‘नगरपालिका र गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र मेयर/उपमेयर प्रदेशले निर्णय गर्छ, सिफारिस स्थानीय तहले गर्ने र जिल्लाले पठाउने काम फटाफट भइरहेको छ’ एमालेले जिल्ला कार्यसमिति मार्फत प्रदेश र केन्द्रमा उम्मेदवारहरूको सिफारिस पठाउने काम मंगलवार सम्म सबै सकिने र ९ गतेसम्म अन्तिम टुङ्गो लागिसक्ने पौडेलले जनाएका छन् । ‘हाम्रो संगठन कमजोर भएको केही ठाउँमा तालमेलको प्रयास भइरहेको उम्मेदवार छनोट गरिएको छैन’ पौडेलले भने । २०७४ को निर्वाचनमा बाराको जीतपुरसिमरा र कोहल्वी उपमहानगरमा प्रमुख/उपप्रमुख एमालेले जितेको थियो भने निजगढ नगरपालिका उपप्रमुख मात्रै एमालेले जितेको हो । विगतको निर्वाचनका आधारमा बाराको उत्तरी भेगको तुलनामा दक्षिणतर्फ एमाले अत्यन्तै कमजोर देखिन्छ । केन्द्रीय सदस्य पौडेलले एमाले कमजोर भएको ठाउँमा गठबन्धन बाहिरका दलसँग तालमेल हुने जनाएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेकपा एमालेले गठबन्धनसँगको निर्वाचनमा सानदार ढङ्गले जित्ने दाबी गरेका छन् । ‘यसपटक एमाले आफ्नो शक्तिमा चुनाव लड्छ गठबन्धनसँग सानदारसँग भिड्छ र जित्छ पनि’ पौडेलले भने ‘एक्लाएक्लै लड्दा आ—आफ्नो भोटमा लडिन्छ, गठबन्धन हुँदा गठबन्धनवालाहरुको सबै भोट उनीहरूलाई जाँदैन । ती भोटहरू दायाँबायाँ हुँदा रोज्ने भनेको एमाले हुन्छ,’ केन्द्रीय सदस्य पौडेलले गठबन्धनसँग चुनाव लड्दा अवसर र चुनौती दुवै भएको बताएका छन् । ‘अहिले हामी २०७४ भन्दा धेरै राम्रो पोजिशनमा छौँ । २०७४ मा नेकपा एमाले विरुद्ध सबै एकजुट थिए । तराईमा एमालेबाट उम्मेदवारी नदिने, भोटै नदिने किसिमको वातावरण थियो । अहिले हाम्रो पार्टीमा उम्मेदवारीका निम्ति मारामारको स्थिति छ,’ उनले भने ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनबाट बाराको २ उपमहानगरसहित ८ ओटा पालिकामा एमालेले सहज ढङ्गले जित्ने पौडेलको दाबी छ । जीतपुर सिमरा र कलैया उपमहानगरसहित निजगढ, कोहल्वी, करैयामाई, बारागढी, आर्दशकोतवाल, पचरौता, महागढीमाई, परवानीपुर र पर्सौनी एमालेले जित्ने उनको दाबी छ । तर, २०७४ को निर्वाचनमा एमालेले जीतपुरसिमरा, कोहल्वी प्रमुख/उपप्रमुख र निजगगढमा उपप्रमुख बाहेक सबै पालिकामा पराजित भएको थियो ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका