काठमाडौँ: ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आजदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिभल’ सुरु भएको छ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापान, जापानका लागि नेपाली राजदूतावास, र नेपाल आदिवासी जनजाति महासङ्घ जापानको संयुक्त आयोजनामा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन भइरहेको यो महोत्सव भोलिसम्म जारी रहनेछ। महोत्सवले नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीपनको अनुभूति गराउन मद्दत पुर्याउने बताइएको छ।
यो फेस्टिभल जापानमा नेपाल र नेपालीको पहिचान झल्काउने ‘नेपाली हाउस’ नामक बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सहयोग जुटाउन आयोजित गरिएको हो। एनआरएनए जापानका अनुसार महोत्सवमा आर्थिक सङ्कलन अभियान, स्टल बुकिङ, स्वयंसेवक टिमको सक्रियता र विभिन्न वेशभूषा, मौलिक कला-संस्कृति तथा नेपाली प्रतिभा प्रदर्शन हुनेछन्। फेस्टिभल मूल आयोजक समितिका संयोजक तथा एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले यसबारे जानकारी दिनुभएको छ।
एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले धार्मिक र सामाजिक सद्भावसहितको नेपाल हाउस निर्माण गर्ने मुख्य योजनाका साथ यस वर्षको नेपाल फेस्टिभल आयोजना गरिएको बताए। महोत्सवमा नेपाली खानाका साथै अन्य व्यापारिक प्रयोजनका ४० वटा स्टल राखिएका छन्।
महोत्सवमा नेपाली मौलिक कला-संस्कृति, सामाजिक रीतिरिवाज, पर्यटकीय स्थल लगायतका विषयवस्तु समेटिएका वृत्तचित्र र फोटो प्रदर्शनीसमेत गरिने एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले जानकारी दिनुभयो। एनआरएनए जापानले सन् २०१२ देखि जापानमा यस्ता महोत्सवहरूको आयोजना गर्दै आइरहेको छ।


