काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार सिंहलाई काठमाडौंको अनामनगर क्षेत्रबाट पक्राउ गरिएको हो। प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
सिंहमाथि मधेश प्रदेश सरकारका योजनाहरूमा अनियमितता र योजना खरिद–बिक्रीमा संलग्न रहेको आरोप पनि लागेको छ। आयोगले प्रारम्भिक अनुसन्धानका आधारमा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।
सिंह महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी जनता समाजवादी पार्टीका सक्रिय नेता मानिन्छन्।
अख्तियारले यस प्रकरणमा अन्य संलग्न व्यक्तिहरूबारे पनि अनुसन्धान जारी रहेको जानकारी दिएको छ। यदि आरोप पुष्टि भएमा सिंहमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कानुनी कारबाही हुनेछ।


