Sunday, November 8, 2026
Homeसामाचारजलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छः उपराष्ट्रपति

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छः उपराष्ट्रपति

काठमाडौँ, १३ साउन— उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानको खण्डीकरण र जलवायु परिवर्तनजस्ता चुनौतीहरू समाधान गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभएको छ। ‘अन्तर्राष्ट्रिय बाघ दिवस’ को अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उहाँले बाघ संरक्षण वातावरणीय सन्तुलनसँग जोडिएको विषय भएकाले यसमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

उपराष्ट्रपति यादवले बाघ संरक्षणबाट पार्या–पर्यटन प्रवर्द्धन भई आर्थिक लाभ लिन सकिने सम्भावना औँल्याउनुभयो। “संरक्षित क्षेत्रमा पर्यटन विस्तार गरी देशको समृद्धिमा योगदान गर्न सकिन्छ,” उहाँले भन्नुभयो।

शुभकामना सन्देशमा उहाँले बाघको छाला, दाँत र हड्डीजस्ता अंगका लागि हुने अवैध सिकारले विश्वभर बाघको संख्या घट्दै गइरहेको र तीव्र वन फँडानी, डढेलो तथा अव्यवस्थित सहरीकरणले बासस्थानलाई संकटमा पारेको उल्लेख गर्नुभयो।

“नेपालले पछिल्लो दशकमा बाघ संरक्षणमा उल्लेखनीय सफलता प्राप्त गरेको छ, जुन सरकार, स्थानीय समुदाय, संघसंस्था र अन्तर्राष्ट्रिय साझेदारहरूको संयुक्त प्रयासबाट सम्भव भएको हो,” सन्देशमा भनिएको छ।

नेपालमा संरक्षित क्षेत्रको सन्तुलित व्यवस्थापन, चोरी–सिकारी नियन्त्रण, जनचेतना अभिवृद्धि र जनसहभागिताका माध्यमबाट बाघको संख्या वृद्धि भए पनि त्यससँगै चुनौतीहरू पनि बढ्दै गएको उपराष्ट्रपतिले औँल्याउनुभयो।

उहाँले बाघ जैविक विविधताको रक्षक भएको र यसको संरक्षणले पारिस्थितिक सन्तुलन कायम राख्न सघाउने भएकाले ‘अन्तर्राष्ट्रिय बाघ दिवस’ ले सबैलाई साझा जिम्मेवारीसहित एकजुट भएर काम गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभयो।

“बाघ दिवसले सबै सरोकारवालालाई योजनाबद्ध रूपमा संरक्षणका कार्यक्रम तर्जुमा गर्न उत्प्रेरित गरोस्,” उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ।

विश्वभर बाघ संरक्षणको महत्त्व उजागर गर्न हरेक वर्ष जुलाई २९ तारिखलाई ‘अन्तर्राष्ट्रिय बाघ दिवस’ का रूपमा मनाइन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका