काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक जनार्दन शर्माले २१औँ शताब्दीको उथलपुथलकारी आन्दोलनले सुशासन, समृद्धि र समानताको लक्ष्य लिए पनि ती उद्देश्य पूरा हुन नसकेको बताएका छन्।
३१औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विगतमा पार्टी नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश अहिले सङ्कटको अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेका छन्।
शर्माले आफ्नो सन्देशमा नेपाली समाजको युगान्तकारी विद्रोहका रूपमा जनयुद्धले सामन्तवादको अन्त्य गर्दै समावेशी सङ्घीय गणतन्त्र स्थापना गर्ने आधार तयार पारेको बताएका छन्। सात राजनीतिक दलको सहभागितामा सम्पन्न दोस्रो जनआन्दोलन, संविधानसभा गठन तथा नयाँ संविधान निर्माणलाई उनले ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरेका छन्।
साथै उनले महान् जनयुद्धको क्रममा बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता तथा घाइते योद्धाप्रति सम्मान प्रकट गरेका छन्।
संविधान र राष्ट्रको रक्षा गर्दै नवयुवाको अपेक्षा पूरा गर्नु अहिलेको प्रमुख चुनौती भएको उनको भनाइ छ। आगामी २१ फागुनमा हुने निर्वाचन सफलतापूर्वक सम्पन्न गरी जनताको अपेक्षाअनुसार राजनीतिक दिशा निर्धारण गर्ने जिम्मेवारी जनतामाथि आएको उनले बताएका छन्।



